Butwal Today

नेपाल–चीन सीमाक्षेत्रमा जोखिम कायमै,१४ हिमतालमध्ये १० उच्च जोखिममा

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा थप हिमताल फुट्ने तथा नयाँ हिमपहिरो जाने जोखिम कायमै रहेको चिनियाँ जलस्रोत मन्त्रालयले चेतावनी दिएको छ।नेपालको छोछेन खोला चिनियाँ स्रोतमा कुओजियान नदी क्षेत्रमा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्रमा पानीको सतह घटेर नदीको बहाव सामान्य अवस्थामा फर्किए पनि आसपासका हिमनदी तथा पहिरोका थुप्राबाट थप जोखिम उत्पन्न हुन सक्ने मन्त्रालयले जनाएको हो।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार, सेप्टेम्बर १ बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरमा प्रभाव क्षेत्रमा जम्मा भएको अधिकांश पानी बाहिरिइसकेको देखिएको छ। प्रभाव क्षेत्रभन्दा तलको नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको जनाइएको छ।तर आसपासका हिमनदी भत्किएमा ठूलो मात्रामा बरफ, चट्टान र मलबे नदीमा खस्न सक्ने तथा त्यसबाट पुनः विनाशकारी बहाव सिर्जना हुन सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ।

पानी घट्यो, जोखिम भने टरेन

स्याटेलाइट तथा राडार चित्रको विश्लेषणअनुसार अगस्ट ३१ मा छोछेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको सतह करिब ८३ हजार वर्गमिटर रहेको थियो। यो अगस्ट ३० बिहानको तुलनामा २५ हजार वर्गमिटर र सोही दिन साँझको तुलनामा १४ हजार वर्गमिटर कम हो। यसअघि उक्त क्षेत्रमा करिब ६ लाख ५० हजार घनमिटर पानी जम्मा भएको अनुमान गरिएको थियो। प्रभाव क्षेत्रभन्दा करिब २।५ किलोमिटर तल तीनवटा साना स्थिर पानीका क्षेत्रसमेत पहिचान गरिएका थिए। तर पछिल्लो ड्रोन निरीक्षणले प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा निकास भइसकेको र तलतर्फको नदी सामान्य रूपमा बगिरहेको देखाएको छ।

नयाँ हिमपहिरो र प्राकृतिक बाँध बन्न सक्ने जोखिम

चिनियाँ पक्षले पानीको बहाव सामान्य अवस्थामा फर्किए पनि जोखिम पूर्ण रूपमा समाप्त नभएको जनाएको छ।प्रभाव क्षेत्र वरपरका हिमनदी भत्किएमा पुनः ठूलो मात्रामा मलबे नदीमा पस्न सक्ने र त्यसले नयाँ प्राकृतिक बाँध वा हिमताल निर्माण गर्न सक्ने चेतावनी दिइएको छ। यसअघि गरिएको ड्रोन निरीक्षणमा पूर्व प्यूरेपू छाङ्पो हिमतालबाट करिब तीन किलोमिटर तल नदीका दुवै किनारमा धेरै पहिरोका थुप्रा देखिएका थिए। हाल ती क्षेत्रमा पानी बगिरहेको भए पनि थप पहिरो गएर नदीको बहाव अवरुद्ध भए नयाँ ताल बन्न सक्ने जोखिम रहेको चिनियाँ अनुसन्धानकर्ताहरूले औंल्याएका छन्।

१४ हिमतालमध्ये १० उच्च जोखिममा

चीनको जलस्रोत मन्त्रालयका अनुसार ग्यिरोङ छाङ्पो नदीको जलाधार क्षेत्रमा पहिचान भएका १४ वटा हिमताल हाल निगरानीमा छन्। पछिल्लो समय ती हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन नदेखिएको र समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। अगस्ट ३१ को विश्लेषणअनुसार चीनतर्फ ०।१ वर्गकिलोमिटरभन्दा ठूला मोरेनले बाँधिएका १४ वटा हिमताल पहिचान भएका छन्। तीमध्ये ११ वटा दोङलिन छाङ्पो नदी तथा यसका सहायक नदीमा र तीनवटा ग्यिरोङ छाङ्पो नदी तथा यसका सहायक नदीमा रहेका छन्।

नदीको प्राकृतिक अवस्था तथा तल्लो क्षेत्रमा रहेका बस्ती र पूर्वाधारलाई आधार बनाएर तीमध्ये १० वटा उच्च जोखिममा र चारवटा मध्यमदेखि न्यून जोखिममा वर्गीकरण गरिएको छ। यद्यपि पछिल्लो एक महिनामा ती सबै हिमतालको पानीको सतहमा ठूलो परिवर्तन नदेखिएको चिनियाँ पक्षले जनाएको छ।नेपालतर्फ भने केरुङ बन्दरगाहभन्दा माथिल्लो क्षेत्रमा ०।१ वर्गकिलोमिटरभन्दा ठूला मोरेनले बाँधिएका हिमताल नभेटिएको स्याटेलाइट विश्लेषणले देखाएको जनाइएको छ।

जलप्रवाहको निरन्तर निगरानी

चीनको जलस्रोत मन्त्रालयले अगस्ट ३१ मा १४ सदस्यीय प्राविधिक टोली परिचालन गरी प्यूरेपू छाङ्पो, दोङलिन छाङ्पो र ग्यिरोङ छाङ्पो नदी क्षेत्रमा जलविज्ञानसम्बन्धी आपत्कालीन अनुगमन गरेको थियो। टोलीले थप निगरानी केन्द्र स्थापना गर्न सकिने स्थानको समेत सर्वेक्षण गरेको जनाएको छ।
केरुङ बन्दरगाहमा अगस्ट ३१ बिहान ९ बजे नदीको बहाव प्रतिसेकेन्ड १२५ घनमिटर मापन गरिएको थियो। उक्त तथ्यांकलाई तल्लो क्षेत्रमा उद्धार तथा राहतमा खटिएका टोलीका लागि जोखिम निगरानी तथा पूर्वसूचना प्रणालीमा प्रयोग गरिएको चिनियाँ मन्त्रालयले जनाएको छ।

यससँगै भोटेकोशी तथा सीमावर्ती हिमाली क्षेत्रमा तत्कालको पानीको बहाव सामान्य देखिए पनि हिमनदी भत्किने, पहिरो जाने र नयाँ प्राकृतिक बाँध तथा हिमताल बन्न सक्ने जोखिमका कारण सतर्कता र निरन्तर निगरानी आवश्यक रहेको चिनियाँ पक्षको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?