© 2026
दाङ ।
दाङको घोराही उपमहानगरपालिकामा विशेषज्ञ पशु चिकित्सक नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका किसानले अहिले भने विशेषज्ञ डाक्टरको सेवा पाउन थालेका छन् । उपमहानगरपालिकाको पशु सेवा शाखामा एक साताअघिदेखि विशेषज्ञ डाक्टरको सुविधा उपलब्ध भएको हो ।
हालै सरुवा भएर आएका डा. दिपक केसीले पशु प्रजनन्, पशु उपचार,महामारी नियन्त्रण पशु स्वास्थ्य परिक्षण, आहारा व्यवस्थापन,दुध मासु निरिक्षण र पशुमा देखिने सम्पूर्ण उपचार गर्ने बताइएको छ । तर, विशेषज्ञ डाक्टरको सेवा सुरु भए पनि उपमहानगरपालिकाका पशु सेवा केन्द्रमा आवश्यक जनशक्तिको अभाव भने कायमै छ ।
पालिका भित्रका सबै पशुसेवा केन्द्रमा दुइजनाको प्राविधिकको दरवन्दी छ । बाम्ला र रामपुरमा दरवन्दी अनुसार कर्मचारी खटाइएको छ । अन्यमा एक कर्मचारीले ३ देखि ५ वटा वडा हेर्ने गरेका छन् । घोराही – ६ मा रहेको फचकपुर केन्द्रमा एक जना मात्रै पशु प्राविधिकले ३ देखि ५ वटा वडा हेर्नुपर्ने बाध्यता रहेको छ । यो अवस्था विगत तीन वर्षदेखि चलिरहेको छ । पशुसेवा नपाउँदा किसान मर्कामा परेका छन् भने पद र पहुँचका आधारमा प्राविधिक गाउँ जान नमान्दा आफूहरुलाई समस्या परेको किसान बताउँछन् ।
उपमहानगरभित्रको पशुसेवा शाखामा पशु प्राबिधिक एक जना, प्राविधिक एक जना, मत्य प्राविधिक एक जना गरि जम्मा ३ जनाको दरवन्दी रहेकोमा अहिले सो शाखामा पाँचजना कर्मचारी कार्यरत छन् । दुईजना कर्मचारी कोटा नभएपनि पालिकामा बसेका छन् । सदरमुकाममा कर्मचारी काम नभएर मोवाइल हेरेर बसेका छन् गाउँका किसान सेवा नपाएर हैरान परेको नाम नबताउने सर्तमा एक पशुपालक किसान बताउँछन् ।
पशु बिरामी पर्दा निजी प्राविधिकलाई महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । उनीहरूले गाउँमै सहज र नियमित पशु स्वास्थ्य सेवा उपलब्ध गराउन पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन गर्न उपमहानगरपालिकासँग माग गरेका छन् ।