© 2026
काठमान्डौँ ।
गत बुधबार बिहान एक्कासि आएको बाढीले रसुवा र नुवाकोटका नदी किनारका क्षेत्र तहसनहस भएका छन् । बाढीका कारण रसुवा र नुवाकोटमा रहेका जलविद्युत् आयोजनाका सुरुङसमेत पुरिएका छन् ।
ती सुरुङमा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ । बाढी आएको छैटौं दिन पुग्दा पनि केही सुरुङमा प्रभावकारी रूपमा उद्धार कार्य अघि बढाउन कठिनाइ भइरहेको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा राति २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । त्यसपछि दुईवटा स्काभेटर प्रयोग गरी करिब १० मिटर तलसम्म होल बनाउने काम गरिएको छ ।
सुरुङभित्र जमेको पानी, हिलो र लेदो सफा गर्ने काम भइरहेको सेनाले जनाएको छ ।
अर्को सुरुङ त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गरेको थियो । सो क्रममा सुरुङको भित्री भागमा हिलो र माटोले पुरिएको अवस्थामा रहेका दुईवटा शव निकालिएको छ ।
अप्पर त्रिशूली–१ को सुरुङमा खोज तथा उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको सेनाले जनाएको छ । उक्त सुरुङबाट एक शव निकालिएको छ ।
लाङटाङ सुरुङमा पनि खोज तथा उद्धार कार्य सुरु गरिएको छ । उक्त सुरुङमा टर्चलाइटको प्रयोग गरी खोजी तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ ।