Butwal Today

सीसीटीभीसहितका महत्त्वपूर्ण उपकरण सुरक्षित गर्न ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

सरकारले माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य निरन्तर भइरहेको जनाएको छ । आइतबार बिहान आयोजनास्थलमा पुनः बाढी आए पनि उद्धार कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयले आइतबार बिहान जारी गरेको सूचनामा आयोजना क्षेत्रमा पूर्ण सतर्कताका साथ समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन डोजर र भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको जनाएको छ ।

त्यस्तै, पहिरो र माटोले पुरिएको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत महत्त्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको समेत कार्यालयले जनाएको छ ।

बाढीका कारण आयोजनास्थलमा फसेका मानिसहरूको उद्धार कार्य गएको रातभरि नै निरन्तर जारी रहेको जनाइएको छ । आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नदीको जलसतह अत्यधिक बढेपछि आयोजनास्थलको किनार तीव्र रूपमा कटान हुन थालेको समेत कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?