© २०२३
चन्द्रौटा (कपिलवस्तु), १९ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको योजनाले गति लिन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । योजनाको निर्माण कार्यमा ढिला सुस्ती हुँदा आम नागरिकले सास्ती खेप्नु परेको स्थानीयले आरोप लगाएका छन् । नगरको योजनाका लागि भैरहवाको साहनी बिल्डर्सले ठेक्का पाएको निर्माण कार्य समयमा नसकिँदा सास्ती खेप्नु परेको हो ।
बिल्डर्सले इ विडिङ्ग मार्फत वडास्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो । जसमध्ये अधिकांश योजना अधुरै रहेको पाइएको छ । पटकपटक म्याद थप गरेपनि कम्पनीले काम नगरी सम्पर्कमा नहुने नगर प्रमुख चक्रपाणी अर्यालको भनाई छ । बिल्डर्सले गत आर्थिक वर्षमा सम्झौता गरेको वडा नम्बर ८ को बन्डौली, गन्सहवा, चप्परगाउँ सडक कालोपत्रे ठप्प रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले निर्माण कार्य सम्पन्न गर्नका लागि २०७९ असोज मसान्त सम्म म्याद थप गरेको थियो । तर सडकको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय पिताम्वर घिमिरे बताए । उनका अनुसार गिट्टी, बालुवा लगायतका निर्माण सामग्री सडक छेकिने गरी थुपारिएको छ । केही ठाउँमा दुबो माथि नै कालोपत्रे गरिएको उनको भनाइ छ ।
यस्तै वडा नम्बर ३ को ठाँटी र सिउटी–हथौसा जोड्ने सडक निर्माण समेत अलपत्र पारेर ठेकेदार सम्पर्क बिहिन भएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले जनाए । वडा नम्बर ६ मा सानो ५ ओटा खण्डमा कालोपत्रे पनि उक्त कम्पनीले ठेक्का पाएको छ तर सबै योजना अलपत्र पारेर छाडेको वडा अध्यक्ष करुण टन्डनले बताए ।
बिल्डर्सले वडा नम्बर ११ का सडक कालोपत्रेका लागि ३ वटा सडक खण्डको ठेक्का पाएको थियो । सव वेस र वेसको काम गरेपछि ठेकेदारले बाँकी काम थाती राखेर सम्पर्क विहीन भएका छन् ।
काम सम्पन्न होस् भनेर कार्यपालिकाबाट म्याद थप गराए पनि अलपत्र राखेर सम्पर्कमा नभएको वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले बताए । यता कम्पनीका सञ्चालक लवकुश साहनीले माघ मसान्त भित्र सबै काम सक्ने उनको भनाई छ । बिल्डर्सले केही कार्य सकिँदा पनि कामदारहरुको ज्याला नदिएको नाम खुलाउने शर्तमा एक कामदारले बताए । माघ मसान्त सकिन करिब डेढ साता बाँकी हुँदा समेत कामले गति नलिएको स्थानीयको आरोप छ ।