© 2026
भदौ १० मा उच्च हिमाली क्षेत्रमा हिमपहिरो तथा हिमताल विस्फोटका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
यो लेख तयार गर्दासम्म नेपालतर्फ ५७९ जनाभन्दा बढीको शव फेला परिसकेको छ । करिब ५००० भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेको सरकारको अनुमान छ । बेपत्ता हुनेहरूमा स्थानिय वासिन्दाहरु, मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू र जलविद्युत् आयोजनामा कार्यरत श्रमिकहरूसमेत परेका छन् ।
पासाङ ल्हामु राजमार्गसहित नदी किनारका करिब ४० किलोमिटर सडक खण्ड ध्वस्त भएको छ । १९ वटा पक्की पुल र ४० भन्दा बढी झोलुङ्गे पुलहरू बाढीले बगाएको छ । नेपाल–चीन सीमामा रहेको रसुवागढी (टिमुरे) भन्सार यार्ड र सीमा नाकाका संरचनाहरू पूरै बगाएको छ, जहाँ व्यापारिक सामान बोकेका सयौँ कन्टेनर तथा गाडीहरू क्षति भएका छन् ।
माथिल्लो त्रिशूली ३ ए, रसुवागढी र सान्जेन जस्ता प्रमुख जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । टिमुरे, स्याफ्रुबेँसी र त्रिशूली बजारसहित तटीय क्षेत्रका करिब ९३,००० मानिसहरू (१०,००० भन्दा बढी परिवार) विस्थापित तथा प्रभावित भएको र २०० अर्ब रूपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । चीनमा नदि थुनिएर ताल बनेकोले भोटेकोशीमा थप बाढी आउने जोखिम कायमै छ ।
अहिले त्रिशुलीमा प्रलयकारी बाढी आएर एक्कासि ठुलो क्षति भएको देखिएपनि यो वर्ष शुरु भएपछी बाढी र पहिरोका १३५२ वटा घटनामा ७१ जनाले ज्यान गुमाई सकेका छन् । रोल्पा, पश्चिम रुकुम, जाजरकोट लगायतका जिल्लाहरुमा क्षति बढी देखिएको छ । यो अवस्थालाई हेर्दा यो वर्ष नेपाल र नेपालीहरुले प्राकृतिक प्रकोपको कारणले गत वर्ष भन्दा धेरै क्षति भोग्नुपर्ने अनुमान छ ।
हरेक प्राकृतिक प्रकोपबाट क्षति भएपछी मानिसहरुले प्रकृतिसंग आक्रोश पोख्ने गर्दछन् । “प्रकृति विषम भयो, प्रकृति बौलायो,दैवले आँखा लगाए ” जस्ता टिप्पणीहरु पिडित र अन्य मानिसहरुले गरेको देखिन्छ । हरेक प्राकृतिक प्रकोप पछिका आवाजहरु सुन्दा प्रकृति नै प्रतिकुल भएकोले क्षति पुगेको हो भन्ने लाग्छ । प्राकृतिक मौसमी चक्र प्रतिकुल भएकोले मात्र प्राकृतिक विपत्तिहरु उत्पन्न भएका हुन भन्ने कुरा मानिसले आफु पानीमाथि ओभानो हुन खोज्नु बाहेक अरु केहि पनि हैन ।
नेपालमा हरेक वर्ष दोहोरीरहने प्राकृतिक प्रकोप र त्यसबाट हुने क्षतिको अध्ययन गर्दा प्राकृतिक प्रकोपहरु बढ्नु र त्यसबाट धेरै क्षति हुनुमा मानिसका व्यवहारहरुले मुख्य भूमिका खेलेको देखिन्छ । खासगरी जल. जमिन र जंगलको उपयोगको सन्दर्भमा मानिसको बदनियत, लापरवाही र हेलचेक्र्याईपूर्ण कार्यहरुले प्राकृतिक प्रकोपको उत्पत्ति र विनाशलिलामा सघाइरहेका छन् ।
नेपालको पहाडी क्षेत्रमा पछिल्ला वर्षहरुमा पहिरोका प्रकोपहरु बढिरहेका छन् । पहाडी क्षेत्रको भुबोट कमजोर भएकोले धेरै पहिरो जाने सम्भावना भएपनि धेरै पहिरो जानुमा मानवीय क्रियाकलापहरु मुख्य जिम्मेवार छन । ५० को दशकदेखि पहाडका हरेक वस्तीहरुमा सडक पु¥याउने होडबाजी चलेको छ । विस्तृुत वातावरणिय प्रभाव मुल्यांकन नगरी डोजरको प्रयोग गरेर अन्धाधुन्द ढंगले बाटो खन्दा पहाडी क्षेत्रका कुलो, खोल्सा र पानीका मुलहरु पुरिदै गएका छन् ।
सानो बजेटमा बनाइएका सडकहरुमा पानी निकासको नालाहरु नबनाइने भएकोले वर्षातको पानी कच्ची सडकबाट बगेर पहाडको कमजोर जमिनलाई बगाउने गरेको देखिन्छ । गत महिना रोल्पामा गएको पहिरोलाई यसको उदाहरणको रुपमा हेर्न सकिन्छ । सडक जस्तै घर लगायतका अन्य भौतिक संरचना निर्माण गर्दा जमिनको अवस्था, भिरालोपन , जंगलको अवस्था र पानीको निकासको व्यवस्था जस्ता पक्षहरुलाई बेवास्ता गर्ने परम्परा बनिसकेकोले पहाडी क्षेत्रमा पहिरोका घटनाहरु बढिरहेका छन् । २०७२ को महाभूकम्पले पहाडी क्षेत्रमा चिराचिरा पारेकोले त्यस यताका वर्षहरुमा पहिरोको समस्या बढी हुने अनुमान गर्न सकिन्छ ।
चुरेमा बढिरहेको मरुभूमिकरणको कारणले खोलाको सतह माथि उठ्नु र भारतले सिमा क्षेत्रमा बाँध बनाएको कारणले मात्र तराई डुवानमा परेको हैन, तराईका वस्तीहरुमा जलनिकासमा अवरोध उत्पन्न गरिएकोले धेरै गाँउवस्तीहरु डुबानमा पर्ने गरेका छन् । तराईका जिल्लाहरुमा जस्तै उपत्यकामा पनि मानव बसोबासयोग्य सबै ठाउँका पानीका पुराना निकास पुरिएका छन्, खोलाहरु साघँुरिएका छन् ।
खासगरी शहर र नगरोन्मुख क्षेत्रमा प्लटिंग गर्दा कतिपय कुलाहरुको नामोनिशान नै मेटाइएको छ । घना वस्ती हुदै गएका गाउँतिर गएका कुलाहरु फोहरमैलाले गर्दा पुरिएका छन् र साघुरिएका छन् । यी कारणले गर्दा वर्षातको समयमा अलिकति बढी पानी पर्ने वित्तिकै ति क्षेत्रहरु डुबानमा पर्ने गरेका छन् ।
नेपालमा अव्यवस्थित वस्ती विकासको क्रममा खोला, कुला, झरन र नालाहरु पुर्ने क्रमले तिब्रता पाएको छ । भूमाफिया, स्थानीय सरकार, कर्मचारी र नापी कार्यालयका कर्मचारीको मिलेमतो पानीका निकसहरु पुरेर प्लाटिंग गर्ने कामलाई बैधानिकता प्रदान गरिएको छ । कुलो साघुरो बनाएर भौतिक निर्माण गर्ने होडबाजी स्थानीय वासिन्दामा पनि देखिएको छ ।
अहिले कतिपय स्थानीय सरकारहरुले समेत सडक चौडा पार्ने नाममा खोला, नहर र कुलोहरु पुरेर निर्माण कार्य अघि बढाइरहेका छन् । पहाडी क्षेत्रमा कमजोर भूभाग डोजरले भत्काएर बाटो बनाउने काममा जनप्रतिनिधिहरु नै अघि सरिरहेका छन् र सुविधा पाउने लोभमा स्थानीय वासिन्दाले त्यसलाई सघाइरहेका छन् ।
सडक खन्दा कमजोर बनेकै जमिन खनेर र खोल्साहरु पुरेर घर बनाउने क्रम पनि पहाडी क्षेत्रमा बढिरहेको छ । यसले विपदको ग्राफलाई हरेक वर्ष माथि उठाइरहेको छ. त्रिशुली बाढीको असर नदि किनारमा उचाइमा रहेका वस्तीहरुमा नभई नदीको बगरमा बनेका वस्तीमा देखिएको छ । बाह्र वर्षमा खोला फर्कन्छ भन्दै पुर्खाहरुले नदीको नगरमा वस्ती नबनाएर कडा चट्टान भएको अग्लो भिरालो जमिनमा वस्ती बसालेका थिए । नदि किनारको बलौटे माटोयुक्त जमिनलाई खेतीपाती गर्ने थलोको रुपमा जोगाएका थिए । तर राजमार्गहरूको विस्तार संगै नदीका बलौटे बगरमा ठुलाठुला वस्तव् र बजार बनाइएक छन् ।
कतिपय स्थानमा त नदि नियमित रुपमा बग्ने ठाउँमा समेत टेवा पर्खाल लगाएर, ग्याभिन लगाएर त्यो ठाउँमा घर बनाईएको छ । यस्ता स्थानमा नदीको सतह र वेग थोरै बढ्ने बित्तिकै नदि कटान र डुबान भएर ठुलो क्षति हुने गरेको देखिएको छ । त्रिशुली नदि किनारका वस्तीमा देखिएको यो विध्वंश कुनैदिन बुटवल, चुत्रावेशी, वालिंग, तल्लो गल्यांग, परासी जस्ता ठाउँमा देखियो भने कसैले अचम्म नमान्दा हुन्छ ।
त्रिशुलीको प्रलयकारी बाढीको घटनापछि जोखिमयुक्त वस्ती, मानव निर्मित संरचना र प्रकृति प्रतिकुल व्यवहारको धेरै चर्चा भैरहेका छन्। “बाउबाजेले जानेकै हुन् है“ भनेर रैथाने अभ्यासको प्रशंशा भैरहेको छ । तर वर्खायाम पछि पहिरो, डुबान र नदि कटानको समस्या मान्छेहरुले विस्तारै बिर्सनेछन् । मान्छेहरुले विर्सेपनि समस्याले भने विर्सनेछैन ।
अहिलेभन्दा विकराल समस्या अर्को साल नहोला भन्न सकिदैन । अहिलेको जस्तो प्राकृतिक बिपत्ति अर्को साल नआओस भन्नको लागि अहिले देखि नै साबधानी अपनाउनु पर्छ । खोला नदीका जलाधार र वहाव क्षेत्रमा भैरहेको दोहन र अतिक्रमणलाई तुरुन्तै रोकेर नदीको पुरानो बहाव मार्ग कायम गरिनु पर्छ ।
डुबान रोक्नको लागि पुराना सबै कुलो, खोल्साहरुको नक्सांकन गरि त्यहाँ भैरहेका भौतिक निर्माणलाई तुरुन्तै हटाउनेर नयाँ निर्माण गर्न रोक लगाउने नीति बनाएर कडाइकासाथ लागु गर्नु पर्दछ । पहाडी क्षेत्रमा जसरी भएपनि सडक पु¥याउने भन्ने अन्धविकासबादी सोचमा परिवर्तन गरेर हरित सडक निर्माणलाई जोड दिनु पर्दछ ।
जति नै सुगम र अवसरयुक्त ठाउँ भए पनि बाढी र पहिरो आउन सक्ने तथा जोखिमपूर्ण भनि पहिचान गरिएका ठाँउमा बसोबास गर्नु हुदैन भन्ने कुरालाई सबैले मूल मन्त्र मान्नु पर्दछ । प्रकृति बहुलाउन्न, बहुलाउन बाध्य पार्ने मानिस नै हो भन्ने कुरा सबैले बुझेमा जीवन र सम्पत्तिलाई प्राकृतिक विपत्तिबाट अवस्यपनि सुरक्षित राख्न सकिनेछ ।