© 2026
काठमाडौँ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ ।
प्रतियोगिताका बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ ।
“एनटी टप एन्ड टी–२० सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लाग्ने छैन । मैदान प्रवेश गर्दा दर्शकलाई स्वैच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ ।
आज राति हुने नेपाल र भिक्टोरियाबिचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको र्याफल (गोलाप्रथा) समेत गरिनेछ”, नर्दन टेरिटोरी क्रिकेट (एनटी स्ट्राइक) ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।
सङ्कलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एनटी स्ट्राइकले जनाएको छ ।
जारी प्रतियोगितामा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ । सेमिफाइनल पुग्न वञ्चित भइसकेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । नेपाल अहिले चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।