© 2026
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित भएको यूएन विमेनले जनाएको छ ।
भदौ १० मा आएको आकस्मिक बाढीका कारण १ लाख ५७ हजार ५० जना महिला तथा किशोरी प्रभावित भएको प्रारम्भिक आकलन यूएन विमेनले सार्वजनिक गरेको छ ।
महिला तथा लैङ्गिक विषयमा काम गर्ने यस संयुक्त राष्ट्रसङ्घीय संस्थाले विज्ञप्ति गर्दै विपद्पछि जोगिएका सर्वसाधारण खाद्यान्न र खानेपानीको चरम अभावसँग जुधिरहेको र स्वास्थ्य तथा सुरक्षा सेवा अवरुद्ध हुँदा विशेष गरी महिला तथा किशोरीहरू हिंसा, शोषण र भोकमरीको उच्च जोखिममा परेको जनाएको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लामा प्रत्येक तीनमध्ये एक महिला निरक्षर छन् । यसले गर्दा राहत र सरकारी सहयोगसम्बन्धी विवरण बुझ्न उनीहरूलाई कठिन भएको छ । यस्तै बागमती प्रदेशमा एक तिहाइ घरधुरीको नेतृत्व महिलाले गरिरहेको तीमध्ये एक तिहाइ वैदेशिक रोजगारीको विप्रेषण (रेमिट्यान्स) मा निर्भर रहेको यूएन विमेतले उल्लेख गरेको छ ।
नेपालका लागि यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले विपद्को समयमा महिला र किशोरीहरूमाथि जोखिम तथा हेरचाहको दायित्व थप बढ्छ । ‘यो भयानक बाढीको पूर्ण क्षतिको विवरण अझै आउन बाँकी छ,’ उनले भनेकी छन्, ‘विपद् आउँदा महिला तथा किशोरीका लागि विद्यमान जोखिम ह्वात्तै बढ्छन् ।
धेरै महिला र किशोरी शोषण तथा दुव्र्यवहारमा पर्ने जोखिम हुन्छ । विगतका विपद्हरूको हेर्दा, पुरुषको तुलनामा धेरै महिलाको ज्यान जाने देखिएको छ ।’