© 2026
काठमान्डौँ ।
काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ । शुक्रबार एउटा सवारी साधनबाट सुरु गरिएको सेवाअन्तर्गत पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ ।
शनिबारदेखि दुई वटा सवारी साधन सञ्चालनमा ल्याइएको छ । तीमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँसम्म यात्रु ओसारपसार गर्दै आएको ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको गाडी हो । अर्को सवारी साधन महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । उक्त गाडीमा १० जना यात्रु अट्ने क्षमता रहेको छ ।
निःशुल्क सञ्चालन गरिएका सवारी साधन पहिचान गर्न अगाडि र पछाडि ब्यानर राखिएको छ । साथै, दुवै सवारी साधनमा नगर प्रहरी परिचालन गरिएको छ । यात्रुको आवश्यकता र चापका आधारमा आगामी दिनमा सवारी साधनको संख्या बढाउने महानगरपालिकाको योजना छ ।
सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद् व्यवस्थापनको काममा प्रोत्साहित गर्न शनिबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायत सभागृह पुगेका थिए ।
उनीहरूले यात्रुहरूको अपेक्षा र सेवा सञ्चालनको उद्देश्यअनुसार प्रभावकारी रूपमा सेवा प्रवाह गर्न कर्मचारी तथा जनशक्तिलाई प्रोत्साहित गरेका थिए ।
महानगरपालिकाका अनुसार यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन हुनेछ । कामको सिलसिलामा देशका विभिन्न स्थानबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेका र विपद्पछि अलपत्र परेका काठमाडौँ फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजीका लागि काठमाडौँबाट उक्त क्षेत्रमा जानुपर्ने व्यक्तिलाई लक्षित गरी सेवा सुरु गरिएको हो ।
यी सवारी साधनले दैनिक दुई पटक यात्रु ओसारपसार गर्नेछन् ।