Butwal Today

बुटवलमा गाईजात्रा : दिवङ्गत आफन्तको सम्झनामा झाँकीसहित नगर परिक्रमा (तस्बिरसहित)

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

बुटवल । 

दिवङ्गत आफन्तको सम्झनामा झाँकीसहित बुटवल नगर परिक्रमा गर्दै गाईजात्रा मनाइएको छ । नेवार समुदायले परम्परागत संस्कृतिअनुसार गाईजात्रा निकाली दिवङ्गत आफन्तप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गाईजात्राका क्रममा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति सहित नगर परिक्रमा गरिएको थियो । सहभागीहरूले दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीकसहित जात्रा निकालेका थिए ।

ऐतिहासिक तथ्यअनुसार राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा शोक सबैले बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना घरमा दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।

गाईजात्राले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश दिइएको र त्यसैअनुरूप हास्यव्यङ्ग्यको प्रचलन सुरु भएको जनश्रुति छ ।

पछिल्लो समय नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्दै आएका छन् । गाईजात्रा मृतकको सम्झना गर्ने पर्वसँगै सामाजिक विकृति, विसङ्गति र समसामयिक विषयमाथि व्यङ्ग्य गर्ने सांस्कृतिक पर्वका रूपमा समेत मनाइँदै आएको छ ।

तस्बिर : विश्वास ढकाल/ बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?