Butwal Today

पहिचान र परीक्षणका लागि ४९ शव जिल्लाबाहिर पठाइयो

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

नवलपरासी ।

रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएको शवमध्ये ४९ वटा शव जिल्ला बाहिर पठाइएको छ । नारायणी नदीको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तर्फको भागमा भेटिएको शव जिल्लामा व्यवस्थापन गर्ने ठाउँ अभावका कारण पहिचान र परीक्षणका लागि जिल्ला बाहिर पठाइएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायकाअनुसार यहाँबाट ४१ वटा शव पोखरा तथा आठवटा शव पाल्पा जिल्लामा पठाइएको छ । उनका अनुसार पोखराको गण्डकी अस्पतालमा ११ वटा महिला, २० वटा पुरुष, तीनवटा बालक तथा सात बालिकाको शव पठाइएको छ ।

त्यस्तै पाल्पा पठाइएका आठवटा शवमध्ये लुम्बिनी मेडिकल कलेज प्रभासमा एक महिला तथा एक बालिका, प्रदेश अस्पताल पाल्पामा दुईवटा महिला तथा पुरुष र बालकको एक–एकवटा र मिसन अस्पताल पाल्पामा दुईवटा पुरुषको शव पठाइएको उपाध्यायले बताए ।

जिल्लामा शवको व्यवस्थापन गर्ने स्थान अभावका कारण अन्यत्र जिल्लाका शव पठाउन सकिने अस्पतालहरूसँग सहकार्य एवं संवाद भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । “भोटेकोशी बाढीका कारण जिल्लामा धेरै शव फेलापरेका छन्, नदी घट्दै जाँदा थप शव भेटिन सक्ने सम्भावना छ”, उनले भने, “यति धेरै शव जिल्लामा व्यवस्थापन गर्न सक्ने अवस्था नहुँदा बाहिर पठाउन बाध्य भयौँ ।”

आज बिहान १०ः०० बजेसम्मको पछिल्लो विवरणअनुसार नवलपुरमा नारायणी नदीले बगाएर ल्याएको ११० वटा शव फेलापरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक ९डिएसपी० अनिल पण्डितकाअनुसार नदी किनारमा भेटिएका सबै शव मुचुल्का उठाएर सुरक्षित स्थानमा राखिएको छ । नारायणी नदीले छोएका जिल्लाका पाँचवटा पालिकामध्ये सबैभन्दा धेरै ६९ वटा शव गैँडाकोट नगरपालिका क्षेत्रमा भेटिएको उनले बताए ।

जिल्ला बाहिर पठाइएको ४९ वटा शवबाहेक अन्य शव जिल्लाका विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ । उनका अनुसार मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा २१, नगर अस्पताल गैँडाकोटमा ३५, नगर अस्पताल मध्यविन्दुमा पाँचवटा शव व्यवस्थापन गरिएको छ । ती शव गैँडाकोटमा ६९, देवचुलीमा आठ, कावासोतीमा ६, मध्यविन्दुमा १८ तथा विनयी वित्रेणीमा नौवटा शव फेलापरेका हुन् ।

गैँडाकोटमा भेटिएको ६९ वटा शवमध्ये एउटा शवको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार आफन्तले दाबी गरेको एउटा शव मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।

नवलपुुरतर्फको नारायणी नदी किनारमा खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । नदी किनारमा खोजीका लागि विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीसहितको टोली परिचालन भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?