© 2026
काठमान्डौँ ।
रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका उनीहरूलाई सुरक्षित बाहिर ल्याएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताइएको छ ।
बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ ।
टनेलभित्र फसेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीसहितको टोली आयोजनातर्फ परिचालन गरिएको जनाइएको छ ।