© 2026
काठमान्डौँ ।
प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षा स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयले भदौ १२ गते सञ्चालन भएका परीक्षामा प्राकृतिक विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा परीक्षा स्थगित गरी संशोधित परीक्षा तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनिएको छ । साथै, अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार तथा सभा–सम्मेलनजस्ता सामूहिक कार्यक्रम नगर्न विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ ।
विपद्को कठिन परिस्थितिमा विद्यार्थी तथा अभिभावकको सुरक्षा र हितलाई प्राथमिकता दिन जोड दिँदै प्रभावित क्षेत्रका विद्यार्थीहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै, विपद्का कारण विद्यार्थी तथा अभिभावकमा पर्न सक्ने मानसिक तनावलाई ध्यानमा राख्दै प्रभावित विद्यार्थी र अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।
प्राकृतिक विपद्का कारण अध्ययनमा परेको असर न्यूनीकरण गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक कदम चाल्न र संवेदनशील अवस्थालाई गम्भीरतापूर्वक लिँदै निर्णयहरू तत्काल कार्यान्वयन गर्न मन्त्रालयले सबै विश्वविद्यालयलाई आग्रह गरेको छ ।