© 2026
काठमान्डौँ ।
रसुवाको रसुवागढी सीमा क्षेत्र आसपास बुधबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो गएर भोटेकोशी नदीमा उच्च गति, तीव्र बहाव र गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिमा भू–उपग्रहका तस्बिर तथा विभिन्न तथ्यांकको प्रारम्भिक विश्लेषण गर्दा सीमा क्षेत्रनजिक हिमपहिरो गएपछि अत्यन्त उच्च आकस्मिक बहाव आएको देखिएको जनाएको छ ।
महाशाखाका अनुसार रसुवागढी सीमा क्षेत्र आसपास बिहान ८ः२० बजे २.६ रेक्टर स्केल तथा ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । यद्यपि, भूकम्प र हिमपहिरोबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने भइसकेको छैन ।
बुधबार बिहान रसुवास्थित नेपाल–चीन रसुवागढी सीमाबाट भोटेकोशी नदीमा उच्च गति, तीव्र बहाव र गेग्रानसहितको बाढी प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले जलसतह, प्रत्यक्ष सूचना तथा बाढीको प्रवाह समयका आधारमा घटनाको वास्तविक समयमै अनुगमन, विश्लेषण र पूर्वसूचना प्रवाह गरेको जनाएको छ ।
महाशाखाले बिहान ९ः१५ बजेदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै पूर्वसूचना जारी गरेको थियो । नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाएर जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो ।
बाढीको बहाव भोटेकोशी हुँदै त्रिशूली नदीमा पुगेपछि मलेखु, मुग्लिन पार गर्दै नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको महाशाखाले जनाएको छ ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका विभिन्न स्वचालित जलमापन केन्द्रसमेत प्रभावित भएका छन् ।
भोटेकोशी–रसुवागढी स्वचालित जलमापन केन्द्रमा बिहान ८ः४० बजे अन्तिम पटक १.६२ मिटर जलसतह मापन भएको थियो । उक्त केन्द्रको सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर रहेकोमा त्यसपछि केन्द्र नै बगेको महाशाखाले जनाएको छ ।
सीमाबाट करिब ९ किलोमिटर तल स्याप्रुबेँसीस्थित स्वचालित जलमापन केन्द्रमा बिहान ८ः५० बजे अन्तिम पटक ३.८ मिटर जलसतह मापन भएको थियो । यसको सतर्कता तह ५.५ मिटर रहे पनि त्यसपछि केन्द्र बगेको थियो ।
त्यस्तै, नेपाल–चीन सीमाबाट ३६ किलोमिटर तल नुवाकोटको बेत्रावतीस्थित केन्द्रले बिहान ९ः२० बजे अन्तिम पटक ३.५५ मिटर जलसतह मापन गरेको थियो । उक्त केन्द्रको सतर्कता तह ४.१ मिटर र खतरा तह ५.५ मिटर रहेको छ ।
फुर्के–मलेखु जलमापन केन्द्रमा बिहान ११ः२० बजे बाढीले सतर्कता तह ७ मिटर पार गरेको थियो । ११ः४० बजे खतरा तह ८ मिटर पार गर्दै जलसतह १०.४८ मिटर पुगेपछि केन्द्र बगेको थियो ।
त्यस्तै, मुग्लिन नजिकको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे बाढीले १२.१ मिटरको खतरा तह पार गरेको थियो । त्यहाँ अधिकतम १२.३५ मिटर जलसतह मापन भएको थियो ।
देवघाट जलमापन केन्द्रमा दिउँसो ३ः२० बजे बाढी पुगेको थियो । साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको महाशाखाले जनाएको छ ।
देवघाटमा मापन भएको बहावको विश्लेषण गर्दा दिउँसो २ः१० देखि साँझ ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
महाशाखाले सीमा क्षेत्रनजिक रहेको हिमपहिरो, हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रबारे थप अध्ययन गरिरहेको जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त भू–उपग्रहका तस्बिर तथा तथ्यांकको प्रारम्भिक विश्लेषणबाट सीमा क्षेत्रनजिकको चिनियाँ भूभागमा हिमपहिरो गएको देखिएको महाशाखाको भनाइ छ ।
महाशाखाले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसैबीच, प्रमुख जलमापन केन्द्रबाट प्राप्त तथ्यांकको निरन्तर अनुगमन तथा तल्लो तटीय क्षेत्रमा बाढीको प्रभावको मूल्याङ्कन भइरहेको महाशाखाले जनाएको छ । हिमपहिरोपछिको बाढीका कारण रसुवाको भोटेकोशी तथा नुवाकोट र धादिङका त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ ।

