© 2026
काठमान्डौँ ।
नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासले उक्त आरोपलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा नेपालतर्फ लगाइएका दुई प्रमुख आरोपलाई ‘फेक न्युज’ भन्दै अस्वीकार गरिएको छ ।
चिनियाँ पक्षका अनुसार, चीनले नेपाली पक्षलाई पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किँदा नेपालले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्ने दुवै आरोप गलत हुन् ।
दूतावासका अनुसार वास्तविक घटनाक्रम आरोप लगाइएभन्दा फरक छ । स्पष्टीकरणमा २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको उल्लेख गरिएको छ ।
त्यसकै कारण विशाल पहिरो गएको र त्यसबाट रसुवागढी–केरुङ सीमा क्षेत्रमा नेपाल तथा चीन दुवैतर्फ ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको चिनियाँ पक्षको दाबी छ ।
विपद्को यस्तो संवेदनशील घडीमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर उद्धार तथा राहत कार्यमा जुट्नुपर्नेमा चीनले जोड दिएको छ ।
दूतावासले भनेको छ, ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ ।’
