Butwal Today

हामी २०० जना उद्धारको पर्खाइमा छौँ : वडासदस्य पेमा दोर्जे घले

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

तिब्बततर्फबाट आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका वडासदस्य पेमा दोर्जे घलेका अनुसार अहिले त्यहाँ धेरै नागरिक उद्धारको पर्खाइमा रहेका छन् ।

वडाध्यक्षको भनाइ –

बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाह छैन ।

टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।

हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने रु केही छैन । बगेको पानी खाएर बसेका छौं ।

हामी उद्दारको पर्खाइमा छौं । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन । म गोसाईकुण्ड गाउपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हु । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?