© 2026
रसुवा ।
तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीबाट ठूलो क्षति भएको प्रारम्भिक जानकारी आएको छ । “अकस्मात् बाढी आएको हो । धेरै थोक नोक्सान भएको छ । तल्लो तटीय क्षेत्रमा हाइड्रोपावर आयोजनाहरू बगेको भन्ने जानकारी आएको छ । बस्तीमा समेत बाढी पसेको खबर आएको छ,” उनले भने ।
नेपाली क्षेत्रमा ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने परियारले बताए । उनका अनुसार रसुवाको नेपाली भूभागमा बाढी आउनसक्ने गरी वर्षा भएको थिएन । “हाम्रोतर्फ ठूलो ग्लेसियर थिएन । पारीबाट बाढी आएको भन्ने छ । यहाँ पनि ठूलो वर्षा भएको थिएन,” उनले भने ।
बाढीका कारण उद्धार तथा क्षतिको निरीक्षणमा समेत कठिनाइ भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरिएको छ । थप क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए ।
तिब्बततर्फबाट आएको बाढीपछि सरकारले उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरेको छ । विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ ।
त्यस्तै, तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भोटेकोशी नदीमा बाढी आएको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।