© 2026
महेन्द्रनगर । शिवाङ्गी दुबे कुस्ती खेलमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी हुन् ।
दुबेले लगातार दुई पटक एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितिसकेकी शिवाङ्गी आगामी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद ९एसियाड० मा कुस्तीमा पदक जित्ने आशालाग्दी खेलाडी हुन् ।
“उनी मेहनती खेलाडी हुन् । त्यसैले दोस्रो पटक एसियाडमा प्रतिस्पर्धा गर्दैछिन्”, कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले भने, “१९औँ एसियाडमा सहभागिता मात्रै भए पनि आसन्न प्रतियोगितामा भने शिवाङ्गीले पदक ल्याउने सम्भावना छ ।”
विगत एक महिनादेखि अयोध्यामा प्रशिक्षण गरिरहेको नेपाली कुस्ती टोलीमा चार पुरुष र दुई महिला खेलाडी छन् । कञ्चनपुरबाट कुस्ती खेल्न सुरु गरेकी शिवाङ्गी हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन् ।
शिवाङ्गीसँगै ६२ किलो तौल समूहमा नेपालगन्जकी सुशीला चन्द पनि आसन्न एसियाडमा सहभागी हुँदै छिन् । पछिल्ला केही वर्षयता नेपाली कुस्तीमा सुदूरपश्चिमका महिला खेलाडीको वर्चस्व रहेपछि खेलाडीहरू विभागीय टोलीमा आबद्ध हुने क्रम बढेको प्रशिक्षक चन्दले बताए ।
कञ्चनपुरबाट आसन्न एसियाडमा चार जना महिला खेलाडी सहभागी हुँदैछन् । १९औँ एसियाडमा नेपालले कांस्य पदक जित्दा महिला कबड्डी टोलीमा कञ्चनपुरका छ जना खेलाडी थिए ।
आसन्न एसियाडमा मानमती विष्ट, रविना चौधरी, जयन्ती बडू र मनिषा जोशी महिला कबड्डी टोलीमा छन् । कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले मनिषाबाहेक अन्य तीन खेलाडी यसअघि नै एसियाडमा सहभागी भइसकेको बताए । कबड्डी खेलाडी मानमती कञ्चनपुरको भीमदत्त नगरपालिका, मनिषा शुक्लाफाँटा नगरपालिका, रविना बेलडाँडी गाउँपालिका र जयन्ती बेदकोट नगरपालिकाका बासिन्दा हुन् ।
“अहिले सहभागी सबै खेलाडी कञ्चनपुरमा आठ–नौ वर्षअघि उत्पादन भएका प्रतिभावान् खेलाडी हुन्”, प्रशिक्षक भट्टले भने, “नेपाली कबड्डीमा कञ्चनपुरको लामो इतिहास र ठूलो योगदान छ ।”