© 2026
बुटवल ।
लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ भने ७१० जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देहीका अनुसार साउन महिनामा भएका दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष र ७ महिला रहेका छन् । दुर्घटनाको मुख्य कारण कारण तीव्र गति देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको दुर्घटनाको कारण विश्लेषणअनुसार तीव्र गतिका कारण २८७ वटा दुर्घटना भएका छन् । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३, चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६, अनावश्यक ओभरटेकका कारण १, ब्रेक फेलका कारण ६, हतारमा बाटो काट्दा २ तथा छाडा चौपाया र जनावरका कारण ४ वटा दुर्घटना भएका छन् ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालना गराउन प्रहरीले साउन महिनामा १० हजार ४५७ वटा सवारी कारबाही गरेको जनाएको छ । कारबाहीबाट १ करोड ३२ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
यस अवधिमा ट्राफिक प्रहरीले १ हजार १७१ वटा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रममा ६३ हजार ११० जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, ट्राफिक प्रहरीले हिट एन्ड रनका एक घटनामा चालक र स्कुटर नियन्त्रणमा लिएको, ३३० वटा स्टिकर टाँस गरेको तथा ३ वटा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कालो स्टिकर झिकिएका सवारीको संख्या २१० रहेको छ ।
कार्यालयका अनुसार ४ पटक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ५९२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वरूप परिवर्तन गरिएका ९ वटा मोटरसाइकलमाथि कारबाही गरी ९० हजार रुपैयाँ जरिवाना गरिएको छ । सवारी चालक अनुमतिपत्र निलम्बनका लागि ८ जनामाथि प्रक्रिया अघि बढाइएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध राजमार्गमा ट्राफिक प्रहरीले २६ पटक सुरक्षा तथा सञ्चालन व्यवस्थापन गरेको जनाएको छ । साउन महिनामा राजमार्गमा सवारी आवागमन सहज बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्लामा ट्राफिक निगरानी र कारबाहीलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।
प्रहरीले तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति तथा लापरबाहीका कारण दुर्घटना बढेको भन्दै चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।


