Butwal Today

साधुत्वमा तरङ्गिँदा….

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

मलाई साधुत्व वा साधुपना ज्यादै प्यारो लाग्छ । सानै छदा वर्णमाला पढ्दादेखि नै मेरो ध्यान ‘ज्ञ’ बाट ज्ञानी भन्ने शब्दको स्पष्टीकरणका लागि चित्रित ऋषिको तस्बिरमा गएर अडिन्थ्यो । त्यही कलकलाउँदो बच्चाको उमेरमा भएको आकर्षण नै मेरो साधुप्रतिको अनुरागको पहिलो सम्झना हो ।

खुलाएर भन्नुपर्दा म अहिले साधु होइन वा भनौँ भइसकेको छैन । अझ स्पष्टसित कुरा थप्दा हुन्छ कि हुन्न त्यो पनि थाहा छैन । हुन्छु भनेर दावा गरौँ भने त्यस प्रकारको जीवनशैली छैन, साधना छैन र हुँदैन भनेर दाबा गरौँ भने पण्डितको जस्तो तोता रटाइको पनि कमी छैन । यो तोता रटाइ क्षमता पनि त साधु बन्नका लागि पहिलो पाइला हो नि ।

म त्यो विद्यार्थी जस्तो छु जो थोरै अध्ययन गर्छ र आफू पढैया भएको परिकल्पना गर्छ, साथै आफै हौसिन्छ कि म त पढैया हूँ भनेर । अनि विभिन्न प्रमाण पेस गर्न खोज्छ कि म त अरूभन्दा भिन्न छु, ज्ञानी छु भनेर ।

त्यही लयमा मेरो साधना पनि चलिरहन्छ आस्ते आस्ते । म आफूलाई पृथक् ठान्छु, मेरो आध्यात्मिक ज्ञानमाथि कृतज्ञ रहन्छु किनभने यस ज्ञानलाई नै म साधन ठान्छु ।

म ध्यानको विषयमा खुब जिज्ञासा राख्छु । विभिन्न आसन, प्राणायाम विधिको अनुसरण गर्छु । आफ्नो कक्षाको पढाइप्रतिको ध्यान भाँडमा जाओस् तर ध्यानका बारेमा खुलस्त हुने गरी पढ्छु । ध्यान गर्नभन्दा पहिला ध्यानका बारेमा बुझूँ भन्छु ।

म आफूलाई ज्ञानको साधक भनौँ वा ध्यानको साधक ? कहिलेकाहीँ यो प्रश्नले मलाई अलमल्ल पार्छ । मलाई पहिला ज्ञानले नै ध्यानसम्म पु¥याएको हो र अहिले ध्यानमा जानबाट भने यही ज्ञानले नै रोकेको छ । ज्ञानले मेरो प्रगति भयो कि अधोगति ? म यो ज्ञानको बारेमा के कस्तो प्रतिक्रिया दिऊँ ?

परम शब्द मलाई ज्यादै प्रिय लाग्छ । जसरी हामी आफ्नो कुनै सुन्दर कपडालाई छुट्टै सह्मालेर राख्छौँ, पछि लगाउने भनेर । अहिले भने भएका पुराना लुगा फटालूँ भन्छौँ । त्यसैगरी म परंज्ञानबाट परंलाई छुट्टै सह्मालेर सिँगारेर राख्छु र ज्ञानसँग मात्र जिउने विचार गर्छु । म छनोटचाहिँ परंसाहित्यको गर्छु तर परंलाई पन्छाएर साहित्यमै आनन्द लिइराख्छु ।

दूध फाटेर दही भए झैँ यही ज्ञान फाटेर कहिले मूल्यवान् परंज्ञान प्राप्त हुने हो भन्ने प्रतिक्षामा छु । म परेँ विज्ञान अझ जीवविज्ञान क्षेत्रको विद्यार्थी । अहिलेको आधुनिक शैलीमा मेरो क्षेत्रलाई पि.सि.एम्.बि अर्थात् फिजिक्स् केमिस्ट्री म्याथ र बायोलोजी भनेर चिनिन्छ । म देख्छु कि मेरा साथीहरू डाक्टर बन्न मन लागेर डाक्टर हुन खोजिरहेका छैनन् ।

उनीहरू त आफूलाई ज्ञानी, विद्वान् र तेजवान् साबित गर्न र आफ्नो अहंताको बढावा गर्ने उद्देश्यले आकर्षित छन् । त्यसैगरी म पनि कहीँ कतै आफू ओजपूर्ण भएको सिद्ध गर्न त खोजिरहेको छैन भनेर सचेत हुन्छु । ‘म किन साधु बन्न खोज्दैछु ? भन्ने म आफै वैज्ञानिक बनेर अनुसन्धान गर्नुपर्ने प्रश्न हो । तर म यस्तो कार्य गर्दिनँ किनभने कार्य गरेपछि कर्ता भाव आउँछ । कर्ता हुनु ध्यानी व्यक्तिको लागि बाधाको विषय हो र यसले आत्मज्ञानतर्फ लैजादैन ।

यस्तै तर्कबितर्क गरेर म सानातिना प्रश्नबाट उम्कन्छु र म साधुत्वको पहिलो चिनारी दिन्छु । साथै संसारी अल्झनबाट मुक्त भएर थप ऊर्जावान् भएको पूर्ण अनुभव गर्छु । मेरा आध्यात्मिक गुरुले भन्नुभएको थियो कि भोगप्रति आकर्षण सिद्धिएपछि मात्र योग हुन्छ । अझ यो पनि थप्नुभयो कि सामान्य साधकको समस्या उसले भोगलाई पूरा भोगेको हुँदैन र अलिअलि मुक्तिप्रति झुकाव भएर मात्र ध्यान गर्न आउँछ ।

यही अल्पभोगका कारण ऊर्जा खण्डित भएर ध्यानमा प्रगति गर्न सक्दैन । यस वाणीले मलाई निकै नै समस्यामा पा¥यो । अब ध्यान गर्न गए त चिताएको हदसम्म प्रगति हुने भएन, त्यसकारण ध्यान विकसित गर्ने उपायस्वरूप पूर्णरूपमा भोगको आकर्षण मेटिने गरी भोगको साधना गर्ने निर्णय बनाएँ ।

यो भोगको साधना गर्ने निर्णयमा बाधा हाल्न अर्का परंज्ञानी गुरुको ‘कामनाको स्वभाव अतृप्ति हो’ भन्ने वाणी याद आयो । यसले मलाई निकै बेर बिथोल्यो । म घोर अन्योलमा परेँ र फेरि अर्का बुद्धत्वप्राप्त गुरुका पुस्तकमा लेखिएको ‘मुक्तिको विचार पनि कामना हो, त्यसकारण यसको पनि त्याग गर्नुपर्छ’ भन्ने सर्वोत्कृष्ट गुरुवाणी झल्यास्य सम्झिएँ ।

अब भने मेरो दिमागमा बल्ल प्रकाश प¥यो कि मुक्तिको विचार कामना भए ध्यानको विचार पनि कामना हो र यो पनि त्याज्य छ । अब भने थप बलवान् भएर ध्यान गर्नका लागि मैले बनाएको भोगको साधना यसरी सही प्रमाणित गरेँ र बल्ल चैन पाएँ । अब मलाई एकोहोरिएर भोगमा लाग्न केहीले पनि छेकेन ।

म साधुजस्तो विशिष्ट व्यक्तित्व बन्ने प्रयत्न गरिरहेको हुँदा सामान्य झिनामसिना गतिविधिमा भाग लिन्नँ तर हरदम चेतनस्थ हुन्छु । कलेजमा केटाहरू ट्वाइलेटतिर गएर भकुराभुकुर गर्दा खुब चेतनस्थ भएर हेर्छु र सुन्छु । अरू केटाहरूले केटी जिस्काएको उच्चतम चेतनासाथ अवलोकन र श्रवण गर्छु । कहिलेकाहीँ घरमा स्वादिष्ट भोजन पाक्न थालेको रहेछ भने सक्रिय भएर सुँघेर पाक्य खानेकुरा पत्ता लगाउँछु । समाजमा विवाह, भोजभतेर र अन्य शुभकार्यमा जाने मौका पाएँ भने परंचैतन्यमा डुबेर भोजनको स्वादमा लीन हुन्छु । यसरी म आफ्नो सक्रियताको अभ्याससमेत गर्छु ।

म आफ्नो आध्यात्मिक ज्ञानको चर्चा परिचर्चा साथीहरूसँग यात्राको क्रममा गर्ने गर्छु । त्यो परिचर्चा अरू जस्तो सामान्य हुँदैन तर सामान्य मान्छेसँग मात्र हुन्छ । ५–६ वटा संस्कृतका श्लोक भट्टाइदिन्छु र अरू टाढाटाढा बसेकाले पनि सुन्ने गरी म आफ्नो ज्ञान र पण्डित्याँइको साम्राज्य बिस्तार गर्छु । आत्मज्ञानमा लीन भएझैँ गरी शास्वत, सनातन र चेतनाको विश्लेषण गर्छु ।

कसैले म ज्यादै बुद्धिमान् र विद्वान् देखिन खोजेको टिप्पणी गर्छन् तर उनीहरूको सामान्य चेतनालाई म कसरी सम्झाऊँ कि साधुहरूको धर्म नै ज्ञानलाई फैलाउनु हो भनेर । उनीहरूको आध्यात्मिक धरातल नभएर मैले बनाइदिई म जस्तै अरूलाई पनि जीवनको अन्तिम लक्ष्य स्वरूप निर्वाण, मोक्ष वा भनौँ परंजागृतिमा आकर्षित गर्न सर्वकल्याण भावले लाग्दैछु ।

उनीहरू आफू पाखण्डले भरिएका भएर मलाई पाखण्डी देखे भन्ने मनोदशा देख्छु र अझ दृढतासाथ शास्त्रार्थ गर्छु । हुन त यो अहिले नै भनिहाल्ने कुराचाहिँ होइन । म आफू भोगको साधनामा साधनारत हुँदा त यतिविधि ज्ञान फुरिरहेको छ भने भोगको पूर्ण तृप्तिपछि मेरो साधुत्वको उचाइ कति हुने होला भन्ने कल्पनाले मनमनै दङ्ग पर्छु । शान्ति सवै मानवको लक्ष्य हो ।

कि यसरी हो कि उसरी हो, तर शान्ति अन्तिम लक्ष्य हो । त्यसकारण म आफूसँग आफै महायुद्ध गरेर ऊर्जा खेर फाल्न चाहन्नँ । सहजरूपमा आफूलाई जस्तो छु त्यस्तै स्विकार गर्छु । साधना गर्नु आफैसँग सन्तुष्ट नहुनु हो, आफ्ना चेतनासँग र आदतसँग लडाइँ गर्नु हो ।

त्यसकारण म परंशान्तिप्रिय मानिस भएकाले द्वन्द्वको झमेला विना नै योग, तपस्या, त्याग नगरी परमात्मा प्राप्ति होस् भन्ने सोच्छु । किनकि आफूलाई आफैले अत्याचार आतङ्क मच्चाउनु पनि त हिंसा हो भन्ने बुझेर परंशान्तिको मार्ग अपनाउँछु । भोगको तृप्ति साधनाबाटै साधु बन्ने स्मार्ट मार्ग फेला पारेपछि को लागोस् लम्बाचौडातिर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?