© 2026
काठमान्डौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचारसमेत नपाइरहेको अवस्थामा सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दुर्गम क्षेत्रका नागरिकले राहत र औषधि नपाइरहेको तर मन्त्री बिरामी पर्दा राज्यको लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् ।
‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ थापाले भनिन्, ‘तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ ।’
उनले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गर्न सक्ने तर जनतालाई तीन लाख रुपैयाँको राहत दिन नसक्ने भन्दै आक्रोश व्यक्त गरिन् । बिहान–बेलुकाको छाक टार्न कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको अवस्थामा सरकारले गर्ने सुशासनको कुरा खोक्रो भएको उनको दाबी थियो ।
मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य समान हुनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ । प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार ?’
एकातिर सरकारले ठूला–ठूला द्रुतमार्ग निर्माणका कुरा गर्ने तर अर्कोतिर कर्णालीमा औषधि र राहतसमेत नपुग्ने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताइन् । सरकारको यस्तो व्यवहारका कारण कर्णालीवासीले वास्तविक सुशासनको अनुभूति गर्न नसकेको उनको भनाइ थियो ।