© 2026
लमही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन् ।
नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन ।
मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजा आराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गरे । उनले नागपञ्चमीले मानव र प्रकृतिबिचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताए ।
त्यसै गरी, थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुरही पर्वले समुदायको मौलिक संस्कृति, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ ।
वर्षायाममा लाग्ने रोग व्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुरही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्त्व बोकेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै यहाँ मनाइने विभिन्न पर्वहरूले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आएको बताए ।
उनले मौलिक संस्कृति, परम्परा र पर्वहरूको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । यस्ता पर्वहरूले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।