Butwal Today

जाजरकोट पहिरो अपडेट : ४ जनाको मृत्यु, ६ घाइते

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । शनिबार साँझ पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृतकको संख्या चार पुगेको हो ।

पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही वडाकी करिब ८७ वर्षीया रती खत्री र उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् । यस्तै, पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा आरन सञ्चालक सिद्धिबहादुर कामी, भद्राकली कार्की, मनवीर चदरा, मनिषा विक र मोतीकला विक रहेका छन् । सिद्धिबहादुर र भद्राकलीलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५०–२०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।

यस्तै, झ्यालीखेत डाँडाका १६ जना, चिसापानीका २० जना, राउटेरे डाँडाका १५ जना र रिसाङ फारुलाका तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

अविरल वर्षाका कारण भेरी–२ को रिसाङलगायत क्षेत्रमा पहिरो जाँदा घर तथा टहरा क्षतिग्रस्त भएका छन् । सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?