Butwal Today

ओलीको चुनौती– ‘मलाई अध्यक्षबाट हटाएर देखाऊ’

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाएर देखाउन चुनौती दिएका छन् । इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई हटाउने पार्टी सदस्यसमेत छ कि छैन भन्दै प्रश्न गरे ।

‘अध्यक्षलाई हटाउने एक जना पार्टी सदस्य छ कि छैन ?’ उनले प्रश्न गरे ।

खुला चुनौती दिँदै ओलीले भने, ‘अध्यक्ष हटाउने भनेर चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ? हटाइदेऊ न । ढिलो भयो भने छिटो हटाऊ त ।’

पार्टीभित्र अनुशासनहीनता र अराजकता देखिएको भन्दै उनले अध्यक्ष हटाउने विषयलाई ख्यालठट्टाका रूपमा नलिन चेतावनी दिए । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले अध्यक्ष हटाउने विषयमा कुरा गर्दैमा त्यसले कुनै अर्थ नराख्ने उनको भनाइ थियो ।

‘ख्याल–ख्यालजस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । मानिलिऔँ, ख्याल हो, ठट्टा हो जस्तो गरेर,’ ओलीले भने, ‘के मजाक हो यस्तो  ?’

अध्यक्ष ओलीले आफूलाई अध्यक्षबाट हटाउने कुरा गर्ने व्यक्ति पार्टी सदस्य नै हो कि होइन भन्ने प्रश्नसमेत गरे । चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने उनको भनाइ थियो ।

एमाले अध्यक्षबाट ओलीलाई हटाउने भन्दै कतिपयले हस्ताक्षर अभियानसमेत सुरु गरेका छन् । त्यसप्रति पनि ओलीले असन्तुष्टि जनाए ।

‘कोही हस्ताक्षर गर्दै हिँड्या छन्, अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन,’ उनले भने, ‘न पार्टीको तरिका छ, न विधान । अस्ति महाधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला ।’

पार्टीमा निर्णय गर्ने निश्चित विधि र समय हुने बताउँदै ओलीले अहिले अध्यक्ष हटाउने विषय उठाउनु उचित नभएको बताए । विरोधी शक्तिले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला एमाले एकताबद्ध भएर सामना गर्नुपर्ने उनको भनाइ थियो ।

‘जति बेला विरोधी शक्तिले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ । त्यतिबेला सिंगै पार्टी एकजुट भएर, एकताबद्ध भएर पार्टीले सामना गर्नुपर्ने, मुकाबिला गर्नुपर्ने ठाउँमा अहिले पार्टीभित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ  ? अहिले यी सबै कुराहरू बेकार छन्,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?