© 2026
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ । खास गरी अज्ञात स्थलमा राखिएका भरुवा बन्दुकको लाइसेन्स नहुँदा सुरक्षा जोखिम हुने डरले त्यस्ता बन्दुक बेवारिसे अवस्थामा फाल्ने क्रम बढेको देखिएको छ ।
भरुवा बन्दुक आधुनिक बन्दुक होइन तर यो मानिसका लागि ज्यान जाने हतियार भने हो । तसर्थ यस प्रकारका बन्दुकको नियन्त्रण जरुरी छ । प्रहरी प्रशासनले निर्वाचनको बेला बन्दुक बुझाउन आग्रह गर्दछ । त्यसपछि चुनाव सकिएपछि फिर्ता दिन्छ ।
तर, अव यस प्रकारमा हतियारको कडा अनुगमन जरुरी छ । विकसित देशहरूमा बन्दुक अहिले ज्यान जाने मुख्य साधन बनेको छ । मानसिक तनावमा रहेका मानिसले यस्तै बन्दुकको प्रयोग गरि ठुलो मानवीय क्षति निम्त्याउने गरेका छन् ।
अतः नेपालमा पनि त्यो जोखिम छ । तसर्थ भरुवा बन्दुकका साथै अरू बन्दुक समेत नियन्त्रणमा लिनु जरुरी छ । अहिले लुम्बिनी प्रदेशका धेरै जिल्लामा भरुवा बन्दुक फेला परेको छ । खास गरी बेवारिसे अवस्थामा ठुलो संख्यामा यस्ता बन्दुक भेटिएका छन ।
यी बन्दुक माओवादी द्वन्द्वको क्रममा लुकाएर राखिएको पनि हुनसक्छ । अहिले आएर निकालिएको आशंका गर्न सकिन्छ । त्यसैपनि तराईमा खुल्ला सिमाको फाईदा उठाउँदै छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार सिमावर्ती तराईका जिल्लामा प्रमुख सुरक्षा चुनौति बनेको अवस्थामा भरुवा बन्दुक अर्को चुनौति बनिरहेको अवस्था छ ।
अर्कोतर्फ नेपालका नागरिकहरूमा पनि साना हतियार मोह बढिरहेको छ । बेला बेलामा पक्राउ पर्ने यस्ता हतियारले नेपालको सुरक्षामा थ्रेट गरिरहेको छ । सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने नेपाल आफ्नै नागरिकवाट सुरक्षित नहुने विभिन्न घटनाक्रमले पुष्टी गरेको छ ।
पछिल्लोसमय सरकारले शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबी गरे पनि मुलुकभित्र हुने आपराधिक घटना र पक्राउ परेका हात–हतियारका आधारमा तराई मधेश मात्र होइन समग्र मुलुककै शान्ति सुरक्षा सन्तोषजनक छैन भन्ने धेरै आधार छ ।
लुम्बिनी प्रदेशसंगै बारा, पर्सा, रौतहट, सर्लाही लगायतका तराईका जिल्ला हतियार चुनौतिका रूपमा देखिएको प्रहरी र अनुसन्धानको रिपोर्ट छ । भर्खरै पक्राउ परेका हतियार र अभियुक्तको अनुपात मुलुकको सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिँदै आएको पुष्टि हुन्छ । हतियारकोे पहुँच मुलुकभरि नै बढ्दै आएको छ ।
हतियारको यो पहुँचले नागरिकमा त्रास बढ्नुका साथै अस्थिरता पनि बढाउन सक्छ । तसर्थ साना हतियार त्यसमा पनि भरुवा बन्दुक नियन्त्रणमा सरकारको ध्यान जाओस् । गुण्डागर्दी, लुटपाट गर्ने, जंगलमा शिकार गर्न जाने र दुव्र्यसनीहरूको सहज पहुँचभित्र हतियार रहेको छ । तसर्थ यो अवस्थामा हतियारले सङ्क्रमणकालमात्र होइन दीर्घकालिन शान्ति सुव्यवस्थामा प्रतिकूलता निम्त्याउने हुँदा हतियार भित्रिने स्रोत पत्ता लगाई पूर्णरूपले निषेध गरिनुपर्छ ।
अर्कोतर्फ भित्रिइसकेका हतियारलाई प्रकृयासंगत बैध वनाउनु जरुरी छ । होइन भने मुलुकका लागि अवैध हतियार जहिले र जतिवेला पनि सुरक्षा चुनौति हुनेछन । भारतसंग सिमा जोडिएका तराईका जिल्ला त्यसै त आपराधिक गतिविधिमा चर्चित छन ।
सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने यो नेपालका लागि सदैव चुनौति बनिरहने भएकोले नेपाल सरकारमात्रै होइन स्थानीय प्रशासनको पनि गंभीर ध्यानाकर्षण जरुरी छ ।
खास गरी लुम्बिनी प्रदेशमा अहिले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेलापर्ने क्रम बढिरहेकोले ती हतियारको विषयमा खोज अनुसन्धान आवश्यक छ । ती हतियार कहाँबाट कसले ल्यायो भन्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । भरुवा बन्दुकको त्रास अन्त्य होस् ।