© 2026
काठमान्डौँ ।
प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई लिएर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुखलगायतमाथि प्रश्न उठाउँदै आएका छन् । गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले यो विषयलाई चर्को रूपमा उठाएका थिए ।
उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ अनुपस्थित थिए । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएका मन्त्री गुरुङले सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाए ।
‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो कुरा भन्ने मौका पाएको छु । जसरी मेरो गैरउपस्थितिमा हाम्रो सचिवज्यू, सहसचिवज्यूहरू र प्रहरी प्रमुखलाई जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड ।’
उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने उनले बताए ।
‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । आरोप जोसुकैले पनि लगाउन सक्छ । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ सांसद सुनारलाई लक्षित गर्दै मन्त्री गुरुङले भने, ‘इट इज नट गुड । अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा । वि आर नट ह्याप्पी अबाउट इट ।’
गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा प्रहरी अधिकारीहरूले सरकारको भावनाअनुसार काम गरिरहेको पनि उनले बताए ।
‘मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु । जसरी आईजी साबहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु । उहाँहरू विशेषगरी यो सरकारको स्पिरिटमा काम गर्न दिनरात खटिनुभएको छ, यसमा दुई मत छैन,’ मन्त्री गुरुङले भने, ‘आरोप लगाउन जोसुकैले पनि सक्छ, तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमार्फत त्यस्तो गर्नु राम्रो होइन ।’