© 2026
रोल्पा ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ९प्र।ना।उ० पंच कुमार बाखुले बुधबार राति थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा कम्तीमा ६ वटा घर तथा गोठ पुरिएको बताए । उनका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरी खोज तथा उद्धार सुरु गरिएको थियो ।
पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमल बहादुर पुन मगरको मृत्यु भएको उनले बताए । उद्धारका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शवसमेत फेला परेको उनले बताए । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रहरीका अनुसार पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएका छन् । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने पहल गरिएको प्रनाउ बाखुले बताए ।
पहिरोमा ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा ४० वर्षीया जुन कुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, छ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि बिहीबार बिहानैदेखि सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रनाउ पंच कुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहितको प्रहरी टोली, नेपाली सेनाको सूर्य दल गण रोल्पाबाट प्रमुख सेनानी दिपेश खड्काको कमाण्डमा टोली तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म नेपाल रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको उनले बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमाण्डमा प्रहरी टोलीसमेत घटनास्थलमा पुगेर खोज तथा उद्धारमा जुटेको उनले बताए । स्थानीय बासिन्दाको सहयोगमा पहिरो हटाउने तथा पुरिएका र बेपत्ता भएका व्यक्तिको खोजी गर्ने काम भइरहेको छ ।
पहिरोका कारण घटनास्थलमा थप जोखिम रहेकाले उद्धार कार्य सावधानीपूर्वक अघि बढाइएको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीले आवश्यक सतर्कता अपनाएर खोजी गरिरहेको प्रनाउ बाखुले बताए ।
घटनाको विस्तृत विवरण खोज तथा उद्धार कार्य अघि बढ्दै जाँदा खुल्ने प्रहरीले जनाएको छ । बेपत्ता नौ जनाको खोजीलाई प्राथमिकतामा राखेर सुरक्षा निकायका टोलीले निरन्तर काम गरिरहेका छन् । साथै घाइतेको उपचार तथा प्रभावित परिवारको उद्धार र राहत व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ ।