Butwal Today

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै लालटिन बोकेर प्रदर्शन

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएको छ ।

महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरूले प्रदर्शनसहित धर्ना दिएका हुन् । धर्नाका क्रममा प्रहरी र पत्रकारबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।

शान्तिपूर्ण रूपमा धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरू आक्रोशित भएका थिए । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए ।

कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । उनीहरूले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कतिपयले बलिरहेको लाल्टिनसमेत बोकेका थिए ।

नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, बिहीबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ । महासंघले श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा गरिएको खानतलासीको विरोध गरेको छ ।

महासंघका अध्यक्ष शर्मासहित पत्रकारहरूको टोलीले बुधबार राति नै काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेको थियो । श्रेष्ठलाई विनाशर्त रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ खरो र निर्भीक पत्रकारका रूपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?