Butwal Today

‘सामान्य भन्दै हेलचेक्र्याइँ नगरौँ’ 

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

तराईमा अत्यधिक गर्मी बढेपछि अस्पतालमा बिरामीको ठुलो चाप छ । अहिले जापानीज इन्सेफ्लाईटिस, टाईफाईड, डेंगु, स्वाईनफ्लू आदिका बिरामीले अस्पताल  भरिएका छन् ।

बिरामी बढिरहेको बेला मौसमजन्य रोगको विषयमा समयमै सचेत हुने हो भने रोकथाममा ठुलो सहयोग पुग्छ । यद्यपि कहिले वर्षा  र कहिले भदौरे गर्मीले उत्पन्न गर्ने रोगको जोखिम नियमित प्रक्रिया जस्तै वनेको छ ।

यही बेला विभिन्न मौसमजन्य रोगको सङ्क्रमण देखा पर्ने गर्दछ । रुगाखोकी, ज्वरो, जिउ दुख्ने, टन्सिल लगायतका हेर्दा सामान्य तर त्यसले विरामीलाई सिकिस्त वनाउने गरेको छ । त्यसमाथि पछिल्लो समय डेंगु थपिएको छ । चितवन र नवलपरासी पश्चिममा जापानीज इन्सेफ्लाईटिसको प्रकोपका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको छ ।

अहिले यी र यस्तै बिरामीका कारण अस्पतालका शैया भरिएका छन् । गर्मी बढी हुँदा डेंगु, मलेरिया, कालाजार लगायतका रोगको प्रकोप बढिरहेको छ । यी रोगको प्रकोप बढ्दै गर्दा स्वास्थ्य सावधानीमा ध्यान दिनुपर्ने आवश्यकता छ । गत वर्ष डेँगुकै कारण नेपालमा ६० बढीले ज्यान गुमाएको तथ्याङ्क छ । यो वर्ष फेरी यो समयमा लामखुट्टेबाट जोगिन जरुरी छ ।

तसर्थ अबको समय भनेको लामखुट्टेकै टोकाइबाट जोगिनु बाहेक अर्को विकल्प छैन । धेरै जघन्य रोगको सुरुवात लामखुट्टेबाटै हुने गरेको देखिएको छ । त्यसमाथि पछिल्लो समय मलेरियाले आफ्नो प्रभाव बढाउँदै लगेको देखिएको छ ।

चर्को ज्वरो नै प्रमुख लक्षणका रूपमा देखिने यो रोग लामखुट्टेबाट सर्ने र रगतमा यसको असर रहने र मलेरियाकै कारण मृत्युको मुखसम्म पुग्नुपर्ने अवस्था समेत देखिएको छ । उता सुदूर पश्चिमका विभिन्न जिल्लामा भारतबाट स्वदेश फर्किएका नेपालीहरूमा स्वाईनफ्लको  सङ्क्रमण देखिएको छ । यसले चिन्ता थपिदिएको छ ।

भारतबाट आउने नेपालीहरूले मलेरियासंगै लिएर आएका छन । युवा तथा अन्य उमेर समूहका लागि रोजगारीको मुख्य गन्तव्य रहेको भारत हजारौं बेरोजगार नेपालीका लागि आकर्षणको गन्तब्य बनेको छ तर रोगहरुको भकारी पनि भारत बन्दैछ ।

खासगरी कर्णाली, सुदूरपश्चिम तथा नेपालका अन्य क्षेत्रमा बसोबास गरिरहेका नेपाली भारतमा रोजगारीका लागि जान्छन् । विदेशमा केही थोरै पैसा भए पनि कमाएर ल्याउँदा घरपरिवारको आर्थिक गर्जो त टर्नेगर्छ, तर पैसा लिएर आउँदा त्योसँगै रोगहरु पनि आउने हुँदा पूर्व सतर्कता जरुरी छ ।

नेपालमा अहिले मौसमजन्य रोगको जोखिम रहेकोले ती रोगबाट जोगिन स्वास्थ्य सावधानीको उपाय प्रयोग गर्न सरकारले आग्रह गरेको छ । तर, अव विभिन्न संक्रामक स्वास्थ्य जोखिमका बिषयमा पनि ध्यान दिनुपर्ने जरुरी छ । हरेक वर्ष डेँगु मानवका लागि जोखिमका रुपमा देखापरिरहेको छ । त्यसपछि मलेरिया अर्को प्रमुख स्वास्थ्य समस्या बन्दैछ ।

ती सवै लामखुट्टेकै टोकाईका कारण हुने भएकोले अबको ध्यान लामखुट्टेबाट बच्नेतर्फ हुनु जरुरी छ । अर्कोतर्फ अहिले प्रकोपकै रुपमा देखिएको मौसमजन्य रोग ज्वरोले धेरैलाई गिजोलेको छ । तसर्थ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुरोधलाई नजरअन्दाज नगरौँ । स्वाईनफ्लुको संक्रमणबाट बच्ने हो भने अनिवार्यरुपमा मास्कको प्रयोग गरौं ।

यो सामान्य रोग हो तर यसले आफ्नो प्रभाव देखाउन पायो भने मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ । विगतको उदाहरणले पनि यही कुरा सिकाएको छ कि कुनैपनि रोगलाई सानो नभनौं । अहिले बर्षाको मूख्य समय समेत भएकोले मौसमजन्य रोगबाट बच्न ध्यान दिऔं । धेरै रोगबाट बच्ने उपाय भनेको स्वास्थ्य सावधानी पनि भएकोले सवैले रोग लाग्नै नदिनेतर्फ सचेत बनौं ।

खासगरी सरकारी अस्पतालमा बिरामीको लामो लाईन र भीड नियन्ण गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । सहजरुपमा स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेण्टी गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?