Butwal Today

उत्पादनसँगै जोडियो गौशाला

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

सल्यान । छाडा गाईको व्यवस्थापनका लागि देशका धेरै स्थानीय तहले गौशाला निर्माण गरेका छन् ।

तर पशु आहार, जनशक्ति र सञ्चालन खर्चको अभावमा कतिपय गौशाला प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । यिनै चुनौतीलाई सुरुदेखि नै सम्बोधन गर्ने उद्देश्य अनुरूप सल्यानको त्रिवेणी गाउँपालिकाले निर्माणाधीन गौशालालाई उत्पादन प्रणालीसँग जोड्दै दीर्घकालीन सञ्चालनको तयारी थालेको छ ।

गाउँपालिकाको वडा नम्बर ४,फलाबाङमा निर्माण भइरहेको गौशालाका लागि आवश्यक पशु आहारको उपलब्धताका लागि उच्च उत्पादन क्षमता भएको सुपर नेपीयर जातको घाँस रोपिएको छ । गौशालाको भौतिक संरचना निर्माण भइरहेकै बेला पशु आहार उत्पादन सुरु गर्ने उद्देश्यले घाँस खेतीलाई पनि अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

गौशाला सञ्चालन सुरु भएपछि दान वा बाहिरको अन्य सहयोगमा भर पर्न नपरोस् भन्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जनाए । उनले भने, “हामीले सञ्चालन गर्ने भनेको गौशालाको उद्देश्य सडकबाट गाई उठाएर राख्ने मात्र होइन, त्यसलाई उत्पादनसँग जोड्दै दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने मोडल विकास गर्नु हो ।” सञ्चालनपछि समस्या नआओस् भनेर पशु आहारदेखि व्यवस्थापन सम्मको तयारी अहिलेबाटै गरिरहेको उनको भनाइ छ ।

गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माणमा दुई आर्थिक वर्षमा ६० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपैयाँबाट भवन तथा आधारभूत संरचना निर्माण गरिएको थियो भने चालु आर्थिक वर्ष २०८३/८४ मा थप ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले चालु आर्थिक वर्षको बजेटबाट गौशालाको थप भवन, घेराबार, पशु व्यवस्थापनका संरचना, पानीको व्यवस्था तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिने जनाए ।

उनका अनुसार गौशाला दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैभन्दा महत्त्वपूर्ण पक्ष पशु आहार भएकाले घाँस खेतीलाई प्राथमिकतामा राखिएको हो ।

सुपर नेपीयर घाँस कम समयमा धेरै उत्पादन दिने र वर्षभरि हरियो आहार उपलब्ध गराउन सक्ने भएकाले गौशालाको सञ्चालन खर्च घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहहरूले निर्माण गरेका कतिपय गौशालामा नियमित घाँस, दाना र सञ्चालन खर्चको अभाव देखिने गरेको छ ।

यसले छाडा गाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने भएकाले दीर्घकालीन सञ्चालनको स्पष्ट योजना पनि आवश्यक पर्ने देखिएकाले सुरुदेखि नै पशु आहार उत्पादनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको गाउँपालिकाको भनाइ छ ।

गौशालालाई भविष्यमा कृषि र पशुपालनसँग जोड्दै जैविक मल उत्पादन लगायतका क्रियाकलाप पनि सञ्चालन गर्ने योजना रहेको छ । यसबाट छाडा गाई व्यवस्थापन, रैथाने गाईको संरक्षणसँगै स्थानीय कृषि प्रणालीलाई समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

घाँस रोप्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष रावत, प्रमुख प्रशासकीय अधिकृत केसी, वडा नं. ४ का अध्यक्ष छविराज शर्मा, वडा नं. १ का अध्यक्ष दलबहादुर बस्नेत, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?