© 2026
सल्यान ।
सल्यानमा सामुदायिक वनको ओडारमा लुकाइएका आठ नाल भरुवा बन्दुक बरामद गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका स्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १:०० बजे बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइराखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद गरिएका बन्दुकमध्ये सात नाल साबुत र एक नाल बेसाबुत रहेका छन् । फेला परेका सबै भरुवा बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।
बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।