Butwal Today

लैङ्गिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी कार्यान्वयनमा जोड

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

दाङ ।

लैङ्गिक हिंसा न्यूनीकरण, महिला अधिकारको संरक्षण तथा सामाजिक न्याय सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन र पीडितमैत्री सेवा आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
३५औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२६ का अवसरमा महिला मानव अधिकार रक्षक सञ्जाल दाङको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा घोराहीमा आयोजित लैङ्गिक समानता तथा सामाजिक न्यायसम्बन्धी संवाद कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका थिए।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले महिला हिंसाका घटनामा महिलाको पहुँच र आवाज पर्याप्त रूपमा स्थापित हुन नसकेको बताइन्। अहिले महिलाहरू आफ्ना कुरा खुलेर राख्न सक्ने अवस्थामा पुगे पनि हिंसामा परेका महिलाका लागि मनोसामाजिक परामर्श र सहयोग उपलब्ध गराउने उपयुक्त स्थान तथा व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. होमबहादुर केसीले महिला र पुरुषबीच समानता कायम गर्नुपर्नेमा जोड दिए। लैङ्गिक समानता र हिंसा न्यूनीकरणका लागि परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने उनले बताए। प्रहरीले गलत कार्यविरुद्ध निरन्तर सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लैङ्गिक हिंसा र सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका थिए। महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य सुशीला पौडेलले १६ दिने अभियान सुरु भएको जानकारी दिँदै आगामी दिनमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइन्।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विगतमा गरिएका कामको समीक्षा गर्दै आगामी दिनका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी राधिका परियारले पछिल्लो समय डिजिटल हिंसा बढ्दै गएको बताइन्। डिजिटल हिंसाका कारण महिलाहरू गम्भीर मानसिक पीडामा पर्ने अवस्था रहेको भन्दै उनले पीडितले न्याय पाउनुको सट्टा प्रहरी प्रशासनबाट थप पीडा भोग्नुपर्ने अवस्था रहेको गुनासो गरिन्। हिंसासम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा पीडितले न्याय पाउन कठिन भएको उनको भनाइ थियो।
परियारले घरपरिवारमै ज्येष्ठ नागरिकलाई हेलाहोचो गर्ने तथा उपेक्षा गर्ने प्रवृत्ति पनि देखिएको बताउँदै सामाजिक न्यायका लागि सबै तहबाट सचेतना र जिम्मेवारी आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको मानव अधिकार, महिला अधिकार, डिजिटल हिंसा, सामाजिक विभेद तथा हिंसापीडितको न्यायमा पहुँचलगायत विषयमा छलफल गरिएको थियो।
१६ दिने अभियानले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै महिला तथा सीमान्तकृत समुदायको अधिकार संरक्षणमा सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?