© 2026
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधरणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली हुनेछ । हिमाली भेगका केही तथा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति पनि देशभर साधरणतया बदली हुने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।