Butwal Today

काँग्रेस–कम्युनिष्टः कमजोरी र बहादुरी

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

हिजोसम्मका शक्तिशाली काँग्रेस र कम्युनिष्ट यतिबेला शक्तिहीन र कमजोर बने । किन यस्तो हुनप¥यो, गल्ती कहाँ भयो, कसरी हुन गयो भनेर आफ्नै कमजोरी केलाउनतिर लाग्नुभन्दा आपसमै पौठेजोरी खेलेर तमासा देखाउँदै छन् त्यसैले ।

सत्ता, शक्ति र स्वार्थले अनेक गुट उपगुटमा विभाजित भएकाहरू आपसमा मिलेर सुध्रने बाटोतिर लाग्नभन्दा पाखुरा सुर्केर मासिने दिसातिर लागेको देखिँदै छ । सत्तामा हुँदा हिजो गरेका अवैध धन्दा, कारोबार, कमिशन र असुलीका असर्फीको असर होला यो । कुकर्मले कमाएको धनको घमन्ड बाँकी रहुन्जेल मन मिल्न दिँदैन त्यसैले ।

कंगाली लाग्न सुरु भएपछि नमिली सुख पाउने छैनन् दुवैले । पहिलेको तीन दलीय सिन्डिकेटको रजाई भोगेकाहरूले प्रदेशको किचलो देखेर भन्दै छन् अहिले– गगन र विश्वले काँग्रेसको वैधानिक नेतृत्व नपाएका भए पुरानै सिण्डिकेटले शासन गर्ने रहेछन् प्रदेशमा । ‘नानीदेखि लागेको बानी सिस्नो पानी लगाउँदा नि नजानी’ भनेको यहि त होला नि !

सत्ता र भत्ताको मदोन्मत्तले कुन हदसम्म बिगारेको थियो भन्ने प्रमाण हुन् यी – सांसद र मन्त्री हुँदै गएर, दुई पटक राष्ट्रपति भएर पनि नअघाएर, फेरि सांसद र मन्त्री बन्ने लाइनमा लाग्नु । आठ मन्त्रालयमा १४ जना मन्त्री बनाउँदा पनि भाग पु¥याउन नसक्नु । तीन, चार र पाँच पटक प्रधानमन्त्री बन्दा पनि पदको भोक मेट्न नसक्ने सिण्डिकेटका सरदारलाई अझै मौका नदिए देश र गणतन्त्र नै नरहने भो भन्नु आदि इत्यादि ।

काँग्रेस र कम्युनिस्टको नेतृत्वमा जबसम्म यस्तो पदलोलुपता, सत्तालिप्सा, शक्ति र सम्पत्तिको मोह यथावत रहन्छ तबसम्म उनीहरूलाई अरू कसैले कमजोर बनाउनै पर्दैन । पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बन्ध्याकरण गर्दा बिग्रेको हो । दलमात्रै बिग्रेको हैन, राज्यसत्ताका सवै संयन्त्र सखाप पारिएको छ । त्यसैले विश्वासको संकट छ सवैतिर । अदालत र सञ्चार क्षेत्र पनि दलीयकरणले बिगारेकाले जनआक्रोशको निसानामा परेका हुन् ।

पार्टीले दिएको नियुक्ति र मालिकभक्तिको सजाय भोग्दैछन् त्यसैले । जनताले सजाय दिएका शक्ति र व्यक्तिलाई अदालत र मिडियाले काँध थाप्न खोज्दा बदनाम भएको ठान्छन् धेरैले । विश्वास पाउन के गर्नपर्ने होला भनेर बुझेकै होलान्, नबुझे भोग्लान् उनैले । साउनको पहिलो हप्तामा काँग्रेस र कम्युनिष्टले आफ्ना संस्थापकलाई सम्झन्छन् सधैं ।

यो सालको साउन ६ र ७ गते पनि सम्झे विपी र पुस्पलाललाई । प्रजातान्त्रिक धारको नेतृत्व विपीले गरेर वामपन्थी अर्थात् कम्युनिष्ट विचारधाराको नेतृत्व पुस्पलालले गरेकाले दुवैको महत्त्व छ यद्यपि । प्रजातान्त्रिक र कम्युनिष्ट दुवैका बीचमा सहकार्य र संघर्ष निकट विगतका इतिहास हुनाले । जब दुवै मिलेर अगाडि बढे तब परिवर्तनका संवाहक बने ।

जब नमिलेर सत्ता र भत्ताका लागि आपसमे लडे, भिडे, तब बदनाम भएर अरूले फाइदा उठाए । ०१७ साल नमिल्दाको नतिजा थियो भने, ०४७ साल मिलेपछिको उपलब्धी । बहुदलीय व्यवस्थाको पुनःस्थापनपछि व्यहोर्न परेको ६० सालको शाही शासन नमिल्दाको नतिजा थियो भने, गणतन्त्र मिलेपछिको उपलब्धी । काँग्रेस र कम्युनिष्ट पार्टीको स्थापना एवं राजनीतिक विस्तारमा दक्षिणी छिमेकीको भूमिको प्रयोग गर्नपर्नु तत्कालीन बाध्यता थियो । भूमिको प्रयोग र भूमिका फरक विषय हुन् ।

त्यो विषयमा दुवै संस्थापक नेताले राम्ररी व्याख्या गरेका छन् । तथापि, दुवै नेताको स्वर्गारोहणपछिका राजनीतिक परिवर्तनमा भूमि र भूमिकाले धेरै असर पारे । सहकार्य र संघर्षमा समेत । विपीको ०३३ सालको मेलमिलापको नीति पनि कम्युनिष्टसँग नभएर राजा र पञ्चसंग थियो । त्यसैले ०४७ सालतिर भनिन्थ्यो– ‘विपी जीवित रहेका भए कम्युनिष्टसँग सहकार्य हुँदैनथ्यो ।

राजा महेन्द्र जीवित रहेका भएपनि बहुदलीय व्यवस्था पुनः स्थापना गर्न गाह्रो पथ्र्यो ।’ कम्युनिष्टसँग भन्दा राजपरिवार र पञ्चसँग बढी नजिक रहन रुचाउने कोइराला परिवारको व्यवहारको असर धेरैपछिसम्म रह्यो । राष्ट्रपति बन्ने सम्भावना देखेर र तत्कालीन माओवादीको विश्वासमा परेर गणतन्त्र स्वीकारेका थिए गिरिजाले पनि ।

गणेशमान र कृष्णप्रसाद भट्टराईकै प्रयासले सफल भएको थियो ०४५/४६ सालको आन्दोलन । त्यस्तो संयुक्त जनआन्दोलनको आवश्यकताको बोध गराउने व्याख्याता थिए पुस्पलाल । निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्ट मिलेर संघर्ष गरे जितिन्छ, बहुदलीय व्यवस्थाको पुनःस्थापन गर्न पनि सकिन्छ, नत्र सकिन्न भन्ने विचार पुस्पलालको हो । यसर्थ ०४५/४६ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरेपनि विचारचाहिँ कम्युनिष्ट (वाममोर्चा) को थियो । ०६२/६३ सालको संयुक्त जनआन्दोलनको नेतृत्व कांग्रेसले गरेपनि विचार र भूमिका माओवादीको थियो । मध्यस्थता दिल्लीले गरेको भए पनि ।

विपी र पुस्पलाल छैनन् अहिले । उत्तराधिकारी छन्, विभाजित र दिसाहीन । विचार र व्यवहार भन्दा बढी सत्ता र सुविधाप्रतिको मोहले छ बिगारेको । त्यसैले हो विपी र पुस्पलालका अनुयायीलाई नयाँ दलले पछि पारेको । ‘सामाजिक लोकतन्त्र’ को वकालत गरेको छ काँग्रेस र कम्युनिष्टलाई पछि पारेर झण्डै दुईतिहाई बहुमत बटुलेको रास्वपाले ।

आधा काँग्रेस र आधा वापपन्थका बीचको बाटो होला त्यो, परीक्षणमै छ । यसको विकल्पमा पनि काँग्रेस र कम्युनिष्ट मिलेर गए सफल हुने छन् । भिडेर जान थाले मासिने छन् । के गर्लान् ? त्यसैको प्रतिक्षामा छ नेपाली समाज । तर सत्ता र सुविधाले बिग्रेर बदनाम भएको नेतृत्वले अबको पुस्तालाई विश्वास दिलाउन सक्ने अवस्था देखिँदैन ।

काँग्रेस र कम्युनिष्टमा बनाउन सक्ने क्षमता नभए पनि बिगार्न सक्ने दक्षता धेरै छ । त्यसैको प्रयोग गरेर एक अर्कालाई असफल पार्दै आफु सत्तामा उक्लन्थे । देश, व्यवस्था र संविधानलाई असफल बताएर आफु जोगिएका थिए आजसम्म । दल, नेता र सरकारले बिगार्ने, अनि दोषचाहिँ व्यवस्था, संविधान, विपक्षी सहित विदेशीलाई दिएर उम्कने गर्थे ।

त्यो चलाखी बुझेका जनताले यसपल्ट सहेनन्, विकल्प रोजे, खोजे । संघीय सत्ताबाट बाहिरिएपछि पानीबिनाका माछा जस्तै बनेर छटपटाएको देखिँदै छ । त्यसैको आक्रोश पोखिँदै छ । बुझेका छन् जनताले पनि । आजसम्म एक अर्कालाई बिगार्न र भत्काउन लगाएको शक्ति यदि बनाउनतिर प्रयोग गरेका भए कमजोर बन्थेनन् दुवै । लोकप्रिय हुन्थे, देश पनि असफल बन्थेन ।

अदालत र सञ्चार क्षेत्रको विश्वास पनि गुम्थेन । रास्वपा पनि जन्मन्थेन । बिगार्न बहादुरी देखाउँदा बनाउन कमजोर रहे । कहिले सुध्रलान् हजुर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?