© 2026
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल सिद्धबाबा मन्दिरमा साउने मेला सुरु भएको छ । साउन महिनालाई भगवान शिवको विशेष आराधनाको महिना मानिने भएकाले श्रद्धालुहरूको सहभागितामा मेला सुरु गरिएको हो ।
बुधबार तिनाउ गाउँपालिका–३ स्थित सिद्धसरोबरबाट भजन–कीर्तनसहित पवित्र जल ल्याई सिद्धबाबा मन्दिरमा रहेको शिवलिङ्गमा जलार्पण गरिएको थियो ।
हिन्दु धर्मावलम्बीका लागि साउन महिना भगवान शिवको विशेष आराधनाको महिना मानिन्छ । धार्मिक मान्यताअनुसार यस महिनामा भगवान शिव पृथ्वीमा भ्रमण गर्ने विश्वास रहिआएको छ । यही कारण साउनभर देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी सोमबारका दिन व्रत बस्ने, पवित्र नदी, कुण्ड तथा सरोवरबाट जल ल्याई शिवलिङ्गमा चढाउने परम्परा रहँदै आएको छ ।
सिद्धबाबा मन्दिर पश्चिम नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यमध्ये एक मानिन्छ। साउन महिनाभर पाल्पा, बुटवल, रुपन्देही, नवलपरासी, अर्घाखाँची, गुल्मी तथा आसपासका जिल्लाबाट श्रद्धालुहरु दर्शन र पूजाआजाका लागि यहाँ पुग्ने गरेको सिद्धबाबा मन्दिर समितिका अध्यक्ष अरबिन्द« पाण्डेले बताए ।
मेलालाई व्यवस्थित बनाउन मन्दिर व्यवस्थापन समिति, स्थानीय तह तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तजनको सहज आवागमन, सुरक्षा तथा पूजा व्यवस्थापनका लागि आवश्यक तयारी पूरा गरिएको जनाइएको छ ।
साउन महिनाभर प्रत्येक दिन तथा विशेषगरी सोमबारका दिन मन्दिरमा जलार्पण, रुद्राभिषेक, भजन–कीर्तन र विशेष पूजा–आराधनाका कार्यक्रम सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
तस्बिर : बुटवल टुडे






