© 2026
बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिको तथ्याङ्क डरलाग्दो रूपमा बढेको छ ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्य प्रगति विवरण अनुसार गत एक वर्षमा प्रदेशका १२ जिल्लामा कुल चार हजार सात सय ९७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाको यो सङ्ख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा निकै उच्च हो ।
दुर्घटनाका कारण प्रदेशभित्र एकै वर्ष ५८५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा ठुलो हिस्सा पुरुषको रहेको छ ।
तथ्याङ्क अनुसार दुर्घटनामा चार सय २४ पुरुष, एक सय १० महिला, ३४ बालक र १७ बालिकाको ज्यान गएको छ, जुन कुल मृतक सङ्ख्याको करिब ७२ प्रतिशत पुरुष र करिब १९ प्रतिशत महिला हो । दुर्घटनामा परी एक हजार सात सय ९९ जना गम्भीर घाइते भएका छन् भने ६ हजार दुई सय ५९ जनाले सामान्य चोटपटक व्यहोरेका छन् ।
सवारी साधनको वर्गीकरण अनुसार दुर्घटनामा सबैभन्दा बढी ६३ प्रतिशत हिस्सा मोटरसाइकलको रहेको छ । कुल ६ हजार आठ सय २२ वटा संलग्न सवारी साधनमध्ये चार हजार दुई सय ८६ वटा मोटरसाइकल रहेका छन् । यसबाहेक ६ सय ६६ जिप÷कार, पाँच सय नौ टेम्पो, दुई सय १० बस, २०४ ट्रक तथा ट्याङ्कर र एक सय ९० वटा ट्याक्टर दुर्घटनामा परेका छन् ।
कार्यालयको विश्लेषण अनुसार अधिकांश दुर्घटना प्राविधिक वा सडकजन्य कारणले भन्दा पनि मानवीय त्रुटिका कारण हुने गरेका छन् । कुल दुर्घटनामध्ये तीन हजार दुई सय ९५ वटा अर्थात् करिब ६८ दशमलव ७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका हुन् ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ६ सय १३ वटा र चालकको असक्षमता वा लापरबाहीका कारण पाँच सय ३५ वटा दुर्घटना भएका छन् । सडकको खराब अवस्था, मौसम वा प्राविधिक गल्तीका कारण हुने दुर्घटनाको सङ्ख्या भने तुलनात्मक रूपमा निकै कम देखिएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट प्रहरीले उल्लेख्य राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गर्दा १३ करोड ५८ लाख ६ हजार ६३ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
साथै थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएका आठ हजार एक सय ६८ सवारी साधनबाट आठ करोड १६ लाख ८० हजार रुपियाँ राजस्व दाखिला भएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ ।
वर्षभरिमा १० हजार ६ सय ६२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख पाँच हजार भन्दा बढी नागरिकलाई सडक सुरक्षाबारे जानकारी गराइएको छ । यस क्रममा चालक, परिचालक, यात्रु, पैदल यात्री र विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी विशेष कक्षा सञ्चालन गरिएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर सडकको कुल लम्बाई १५ हजार सात सय ६ किलोमिटर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को १५ हजार ४२ किलोमिटरको तुलनामा शून्य दशमलव ९६ प्रतिशतले बढी हो ।
सडक बिस्तारसँगै प्रदेशमा सवारी साधनको दर्ता सङ्ख्या पनि पाँच दशमलव ५८ प्रतिशतले बढेर १७ लाख पाँच हजार ४९९ पुगेको छ, जसमा १४ लाख ६३ हजार २०५ वटा अर्थात् ८५ दशमलव ८१ प्रतिशत हिस्सा निजी मोटरसाइकलको रहेको छ । सवारी साधनको सङ्ख्या बढेसँगै दुर्घटनाको ग्राफ पनि तीव्र रूपमा उकालो लागेको छ ।
सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक प्रहरीले सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, गम्भीर नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र निलम्बनको सिफारिस, ५३ वटा दुर्घटनाजन्य जोखिम क्षेत्र (ब्ल्याक स्पट) मा १३० वटा सुरक्षा उपकरण तथा सङ्केत राख्ने कार्य गरेको छ ।
साथै बाँकेको कोहलपुरका दुई स्थानमा नयाँ ट्राफिक लाइट जडान, नेपालगन्जको धम्बोजी चोकको बत्ती मर्मत तथा कपिलवस्तुमा टोल फ्रि नम्बर १०३ सञ्चालनमा ल्याइएको छ ।