Butwal Today

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् ।

छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा, मूल्य–मान्यता कायम राख्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताए । उनले सत्तापक्ष, प्रमुख प्रतिपक्ष र विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड दिए ।

सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले दसैँ अघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । शून्य र विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा अनुकूल बनाउने विषयमा समेत छलफल भएको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिए । उनले सरकारले संसद्मा विधेयक ल्याउने विषयमा पटक–पटक प्रतिबद्धता जनाए पनि हालसम्म कुनै विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन सत्ता पक्षीय दलले नै पहल गर्नुपर्ने धारणा राखिएको बताए ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि साउन १४ गतेदेखि सदन सञ्चालन हुने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइन् । सरकारले सांसदहरूलाई व्यस्त बनाउने गरी पर्याप्त विधेयकसहितको ‘बिजनेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।

सत्तापक्ष र विपक्षीबिच देखिएका असहमतिका विषयमा सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गर्दै धितालले तीन–चार दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरिन् । छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने प्रयास भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?