© २०२३
काठमाडौं, १३ माघ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । शुक्रबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी समय तोकेका हुन् । बैठकले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिएको छ ।
राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उक्त पद एक वर्षदेखि रिक्त छ । शुक्रबार तीन मिनेट ५४ सेकेण्ड मात्र बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राख्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो ।
निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।