© 2026
सिरहा ।
सुनसरीमा भएको घटनाको विरोधमा हिन्दुवादीहरूले सिरहाको धनगढी नगरपालिका–८ स्थित कसाहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
हिन्दु सम्राट्को नेतृत्वमा जम्मा भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रदर्शनकारीबीच समन्वय भइरहेको सिरहाका प्रहरी प्रमुख ९एसपी० बासु पाठकले जानकारी दिए ।
साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनाको विरोधस्वरूप सिरहामा पनि प्रदर्शन गरिएको हो ।
सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनाको प्रभाव अन्य जिल्लामा फैलिन नदिन पूर्वसतर्कता अपनाउने निर्णय गरेको थियो ।
सुनसरीको झडपमा ९ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले बताएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । झडपका क्रममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईसहित नेपाल प्रहरीका १० जना तथा सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी पनि घाइते भएका थिए ।