Butwal Today

देशभर मनसुनी प्रभाव कायम, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ ।

यसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली तथा पहाडी भूभाग र कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?