Butwal Today

सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

११ श्रावण २०८३, सोमबार
अ+
अ-

सल्यान । 

सल्यानको कपुरकोटमा भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका वडा नं, ३ स्थित कपुरकोट–किमुचौर सडक खण्ड अन्तर्गत हुलाक कार्यालय नजिक सोमबार दिउँसो अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा अटो चालक कपुरकोट गाउँपालिका–४ निवासी होमसिंह घर्तीसहित सोही वडाका आशिष डाँगी, डम्बरराज रोका, रेशम रोका तथा कपुरकोट–३ निवासी रुपेश घर्ती घाइते भएका छन् । घाइते सबै पुरुष हुन् ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि कपुरकोट गाउँपालिका–३ स्थित आधारभूत अस्पताल पुर्कोटमा लगिएको थियो । तर केही घाइतेहरूलाई थप उपचारका लागि दाङको तुलसीपुरतर्फ रिफर गरिएको आधारभूत अस्पताल कपुरकोटका व्यवस्थापक देवेन्द्रकुमार सेनले जानकारी दिए । दुई जनालाई अलि बढी चोट रहेको र अन्य सामान्य रहेको उनले जनाए ।

किमुचौरबाट कपुरकोटतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ह १९२३ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?