© 2026
काठमाडौँ । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेकपाका वरिष्ठ नेता माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् ।
प्रचण्ड आइतबार बिहान नेपाललाई भेट्न उनकै कोटेश्वरस्थित निवास पुगेका थिए । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टि जनाएका छन् । विशेष गरी कोसी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति उनले असहमति राखेका छन् ।
यस विषयमा माधव नेपालले आइतबार नयाँ बानेश्वरस्थित आर्याल होटलमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए । नेपालनिकट स्रोतका अनुसार शनिबार नै प्रचण्डले भेट्न चाहेका थिए । तर, आइतबार बिहान कोटेश्वरस्थित निवासमै दुवै नेताबिच छलफल भएको हो ।
छलफलका क्रममा प्रचण्डले सहमति गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गरेको स्रोतको दाबी छ । तीन बुँदे सहमतिअनुसार कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।