Butwal Today

पहिरो पन्छाउन ३ ठाउँमा उपकरण

११ श्रावण २०८३, सोमबार
अ+
अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर, ट्रिपरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ ।

बर्खायाममा हिलोसहितको पहिरो खस्ने जोखिम उच्च रहेकाले आवश्यक परे तत्काल घटनास्थलमा पुग्ने गरी उपकरण व्यवस्थापन गरिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

उनका अनुसार मुग्लिनमा एउटा लोडर राखिएको छ । यस्तै, सेती दोभानमा लोडर, एक्साभेटर, ब्याकहो लोडर, ट्रिपर, ट्रेलर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको छ ।

हालै मात्र ठेक्का लागेको तुइन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण परिचालन गरिनेछ । सामान्य अवस्थामा भने तुइन खोलामा रहेका उपकरण सोही क्षेत्रको पहिरो पन्छाउन मात्रै प्रयोग गरिने जनाइएको छ ।

ठुलो परिमाणमा पहिरो खसेमा हेटौँडा र पोखरास्थित हेभी इक्विपमेन्ट कार्यालयबाट समेत थप उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए । उनले पहिरो खस्नासाथ तत्काल पन्छाउन सक्ने गरी आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

वर्षायाम सुरु भएयता नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिकजसो साना तथा ठूला पहिरो खसिरहेका छन् । ती पहिरो तत्काल पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

यस सडकखण्डका ४३ स्थान मध्यमदेखि उच्च जोखिममा रहेका छन् । तीमध्ये सात स्थान उच्च जोखिममा छन् भने बाँकी स्थान मध्यम जोखिममा रहेका छन् । हिउँदमा समेत यस सडकखण्डमा सुख्खा पहिरो खस्ने गरेको छ ।

देशका विभिन्न भागबाट दैनिक हजारौँ सवारीसाधन यही राजमार्ग हुँदै राजधानी काठमाडौँ भित्रिने र बाहिरिने गर्छन् । राजधानीको ‘लाइफलाइन’का रूपमा परिचित यो सडक मुलुकको प्रमुख यातायात मार्गमध्ये एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?