© 2026
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, सञ्चार तथा विपद् व्यवस्थापनलगायतका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गरेका छन् ।
छलफलका क्रममा सञ्चार मन्त्री डा तिमिल्सिनाले गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे जानकारी लिए ।
उनले स्थानीय तहबाट उठेका समस्या र मागलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनालाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चार मन्त्री डा। तिमिल्सिनाले तादी गाउँपालिका–२ मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारको काम यथाशीघ्र अघि बढाउन निर्देशन दिइसकेको बताउँदै पालिका स्तरीय खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य, सञ्चार तथा अन्य पूर्वाधारका आवश्यकताबारे जानकारी प्राप्त हुनासाथ आवश्यक सहजीकरण गरिने बताए ।
उनले वर्षायाममा बाढी–पहिरो नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
तत्काल राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहले यथार्थ मूल्याङ्कन गरी आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “नागरिकले सहज रूपमा सेवा–सुविधा पाउनुपर्छ । कुनै पनि नागरिकले असुविधा भोग्नु हुँदैन । त्यसमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको छु ।”
उनले तादी गाउँपालिकामा आवश्यक पूर्वाधार आयोजना पहिचान गरी सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनाको कार्यान्वयनका लागि पहल गरिने पनि बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका डा। तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् । उनले यसअघि पनि जिल्लाका विभिन्न स्थानीय तह तथा सेवा प्रदायक निकायसँग विकास निर्माण र सेवा प्रवाहका विषयमा निरन्तर छलफल गर्दै आएका छन् ।
गत हप्ता उनले ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीय समस्या तथा आवश्यकताबारे छलफल गर्नुका साथै जिल्लाको विद्युत् आपूर्ति सुधारका विषयमा नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण सेवा केन्द्रका प्रमुख लगायतसँग पनि छलफल गरेका थिए ।
सो अवसरमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले तादी गाउँपालिका–५ स्थित दोर्खुखोला मुहानबाट सठिया, बोरे र बञ्चरे क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न आवश्यक बजेट व्यवस्थाका लागि सञ्चार मन्त्री डा। तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।