© 2026
विराटनगर ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको छ ।
कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो ।
स्थानीय प्रशासनका अनुसार सेनाको टोली घटनास्थल पुगेपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जानकारी दिए ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ ।