Butwal Today

त्रिविद्वारा परीक्षार्थीका लागि नयाँ आचारसंहिता जारी, नियम उल्लंघन गरे कानुनी कारबाही हुने

११ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एम.फिल. तहका विभिन्न सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ आचारसंहिता तथा निर्देशन सार्वजनिक गरेको छ ।

परीक्षालाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा सञ्चालन गर्ने उद्देश्यले विश्वविद्यालयले कडा नियमहरू लागू गरेको हो । डीनको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार प्रत्येक परीक्षार्थीले परीक्षा दिने प्रत्येक दिन आफ्नो आधिकारिक प्रवेशपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ ।

त्यस्तै, परीक्षा हलमा प्रवेश गरेपछि केन्द्राध्यक्षले तोकेको सिटमा मात्र बस्नुपर्नेछ । केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ। साथै, परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म कुनै पनि परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन अनुमति दिइने छैन ।

विश्वविद्यालयले परीक्षा हलभित्र मोबाइल फोन, स्मार्टवाच लगायतका विद्युतीय उपकरण, चिट, पुस्तक तथा अन्य प्रतिबन्धित सामग्री लैजान पूर्ण रूपमा निषेध गरेको छ । नक्कल गरेको, अरूलाई नक्कल गर्न सहयोग गरेको वा अरूको सट्टामा परीक्षा दिएको (प्रतिरूपण) पाइएमा सम्बन्धित परीक्षार्थीमाथि तत्काल कारबाही गरिने सूचनामा उल्लेख छ ।

यस्तै, परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने वा कर्मचारीसँग अभद्र व्यवहार गर्ने व्यक्तिमाथि पनि कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

हालै त्रिभुवन विश्वविद्यालयको एक परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएपछि परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित र विश्वसनीय बनाउन यी कडा व्यवस्था लागू गरिएको हो ।

सूचनाअनुसार परीक्षा नियम तथा आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै उनीहरूलाई निश्चित अवधिसम्म विश्वविद्यालयका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी वञ्चित गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?