Butwal Today

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

११ श्रावण २०८३, सोमबार
अ+
अ-

बुटवल ।

रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्य योजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको भैरव कामना मन्दिर परिसरमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मौसमी तथा बाह्रमासे फूल, फलफूल, औषधीय र धार्मिक महत्वका रुद्राक्ष, चन्दन, श्रीखण्ड, पलाँस, अमला, तेजपात, मोरिङ्गा, अर्जुन, आँप, जामुन, बेल, निम, पारिजातलगायतका ३५५ वटा बिरुवा रोपिएको क्लबले जनाएको छ । कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाइ गर्नुका साथै एक थान डस्टबिन पनि हस्तान्तरण गरिएको थियो ।

क्लबका अध्यक्ष वासुदेव भुसालले नुवाकोट विकास समिति र भैरव कामना मन्दिर व्यवस्थापन समितिलाई समन्वय र सहकार्यका लागि धन्यवाद दिँदै मन्दिरको गुरुयोजनाअन्तर्गत रहेको अग्नि कुण्ड निर्माण चालु वर्षमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्दिर क्षेत्रको संरक्षण, सौन्दर्यीकरण र विकासका लागि क्लबले आगामी दिनमा पनि आफ्नो क्षमता र स्रोत–साधनअनुसार सहकार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा नुवाकोट विकास समिति, भैरव कामना मन्दिर व्यवस्थापन समिति, पथिक फाउन्डेसन रुपन्देही, रोटरी क्लबका सदस्य तथा अन्य स्वयंसेवकसहित करिब ४५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नुवाकोट विकास समितिका अध्यक्ष ई. पी. एल. श्रेष्ठ र भैरव कामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै वातावरण संरक्षण र धार्मिक सम्पदाको संवर्द्धनमा यस्तो अभियानले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

क्लबका सचिव माधव पौडेलले यस्ता कार्यक्रमलाई क्लबले आगामी दिनमा पनि निरन्तर जारी राख्ने बताए । डस्टबिन उपलब्ध गराउने विष्णु प्रसाद भट्टराई, कार्यक्रम संयोजकद्वय मदन घिमिरे र शरद अधिकारी तथा सहभागीका लागि भोजन प्रायोजन गर्ने योगेश भण्डारीप्रति क्लबले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?