Butwal Today

ओलीप्रति शाहीको कटाक्ष- तिमीहरूले राजाको इतिहास मेटायौ, अरूले तिम्रो मेटाइदिए

११ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

उनले हिजो राजाका पालामा निर्माण भएका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्न नहुने टिप्पणी गरेका छन् ।

शाहीले भने, “नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ । तर, यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन । हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए ।”

उनले राजतन्त्रकालमा निर्माण भएका संरचना र तिनसँग जोडिएका ऐतिहासिक पहिचान योजनाबद्ध रूपमा मेटाउने प्रयास गरिएको दाबी गर्दै अहिले त्यही प्रवृत्ति अर्को स्वरूपमा दोहोरिएको बताएका छन् ।

उनले भने, “हिजो हुँदाहुँदै राजमार्गहरूको नामसमेत फेरियो । राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास तिमीहरूले नै गर्‍यौ ।”

यस घटनाले आफूलाई एउटा पुरानो कथा सम्झाएको उल्लेख गर्दै शाहीले इतिहास मेटाउने प्रवृत्तिबारे चेतावनी पनि दिएका छन् ।

उनका अनुसार, “एकजना छोराले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लगेछ । आमालाई फालेर फर्किएपछि उसको सानो छोराले भन्यो, ‘बुबा, त्यो डोकोचाहिँ नफाल्नुहोस् है, राखिराख्नुहोस् । भोलि तपाईं बूढो भएपछि तपाईंलाई फाल्न पनि यही डोको काम लाग्छ ।’ आज ठ्याक्कै त्यस्तै भएको छ । इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?