© 2026
काठमान्डौँ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख खोजी गरी पुनर्स्थापना गरिने बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए । त्यसबेला राखिएको ओलीको नाम अंकित शिलालेख तोडफोड गरी हटाइएको भन्दै विभिन्न पक्षबाट विरोध हुँदै आएको छ ।
आज सुरुङमार्गको औपचारिक उद्घाटन समारोहमा मन्त्री लम्सालले हराएको शिलालेख खोजी गरी पुनः स्थापना गरिने जानकारी दिए ।
नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा। बाबुराम भट्टराईको कार्यकालमा गरिएको थियो । सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा गरिएको थियो भने अहिले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले अब देशभर यस्ता सुरुङमार्ग निर्माण गरिने बताए । ‘अब देशभर यस्ता टनेल बन्छन् । यो टनेलले हामीलाई धेरै कुरा सिकाएको छ । हामी अब टनेल युगमा प्रवेश गरेका छौं,’ उनले भने ।
नेपालको पहिलो अत्याधुनिक सडक सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो ।
मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने सहायक सुरुङमार्ग २.५५७ किलोमिटर लामो छ ।