Butwal Today

गुल्मीमा ग्यास सिलिन्डर बोकेको बोलेरो दुर्घटना, चार जना घाइते

११ श्रावण २०८३, सोमबार
अ+
अ-

गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार बिहान करिब ८ बजे तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको डबल क्याप बोलेरो सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका–३ काउलेकी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गौतम लोको बाँया हातमा चोट लागेको छ भने लमजुङको बेँसीशहर नगरपालिका–६ निवासी २६ वर्षीय अविलाल राउतको निधार र ढाडमा सामान्य चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार ललितपुरको गोदावरी नगरपालिका–११ निवासी ४० वर्षीय कृष्ण दाहाल भने सकुशल रहेका छन् ।

दुर्घटनाका बेला बोलेरोमा चालकसहित पाँच जना सवार थिए । चालक ललितपुरको गोदावरी नगरपालिका–१ निवासी २६ वर्षीय विशाल सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?